नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपाल श्रीलङ्कासँग ७० रनले पर...
मंसिर ८, २०८१ शनिबार
एउटा निस्कर्षमा पुगेर भन्ने हो भने यो देशमा फाेहरको व्यवस्थापन भएको छैन । हामीले फाेहरलाई एक ठाउँमा लगेर थन्क्याएका छौँ, पोलेका छौँ, गाडेका छौँ, खोलामा लगेर बगाएका छौँ वास्तवमा यो फाेहर व्यवस्थापनको विधि होइन ।
अर्को कुरा जसलाई हामीले फाेहर भनिराखेका छौँ त्यस भित्रको मूल्य बुझिरहेका छैनौँ । फाेहर भन्ने शब्दले पनि नकारात्मक सन्देश दिइरहेको छ । हामीले फाेहर भित्रको सुन्दरता खोज्ने, खोतल्ने र त्यसलाई निकाल्ने हिसाबले कहिले पनि नसोचेको हुनाले देशभरिको कुरा गर्दा कहीँ पनि व्यवस्थापन भएको छैन । हुँदै नभएको होइन, कसैले केही सकारात्मक प्रयास गरेका छन् र गर्नुपर्छ भन्ने देशव्यापी आवाज सुनिन्छ । तर, वास्तवमा फाेहरलाई देशव्यापी रुपमा फाेहर तथा नचाहिने वस्तुको रुपमा मात्र चित्रित गरिएको छ । अर्को कुरा व्यवस्थापन पनि गरिएको छैन भन्न हिचकिचाउनुपर्ने अवस्था छैन ।
सिसडोललाई दुई वर्षको ल्याण्डफिल साइटको क्षमतासहित विकास गरिएको थियो सुरुमा । बीसौँ वर्ष भइसक्दा पनि त्यसैमा थप्दै थप्दै र चाङ लगाउँदै गइरहेका छौँ । त्यसले ल्याण्डफिलिङ गर्ने उद्देश्यले आफ्नो क्षमताभन्दा बाहिर गएको हुनाले त्यसका थुप्रै नकारात्मक असरहरु परेको हामीले देख्यौँ ।
अर्को भनेको फाेहरको पहाड बनेको छ जुन कुन दिन पहिरो जान्छ र त्यसलाई कसरी स्थिर बनाउनुपर्छ भन्ने छ । अर्को भनेको त्यही बाटो भएर गाडीहरु गुडिरहेका छन् तिनलाई सधैँ गुड्ने राम्रो बाटो बनाइदिनुपर्ने देखिन्छ ।
जब हामी बालाजु छोडेर भित्र पस्न थाल्छौँ त्यसपछि केही न केही गन्ध आउँछ यसको अर्थ सिसडोल अथवा त्यहाँबाट निस्किएका फाेहरहरु जब वायुमण्डलमा छिर्दै जान्छ र पश्चिम तिरबाट आएको हावाले काठमाण्डौ छिराउँदै गर्छ । यस कारणले दूषित हावा काठमाण्डौको बस्तीसम्म आइपुगेको अवस्थामा त्यहीँका मान्छेलाई कस्तो भएको होला हामीले विचार गर्नुपर्नेछ ।
अर्को भयावह स्थिति भनेको कुहिने फाेहरलाई जब हामीले त्यहाँ राखेर बन्द गर्छौँ बिस्तारै कुहिन थाल्छ । तापक्रम जब बढ्दै जान्छ त्यसबाट केही तरल पदार्थ निस्कन थाल्छ त्यसमा धातु हुनसक्छ, अर्ग्यानिक पोलुट्यानट हुनसक्छ । त्यस्तै अरु थुप्रै अर्ग्यानिक, इनअर्ग्यानिक मिश्रणको रुपमा निस्किएको जुन लेदो छ त्यसले पानीलाई प्रदूषित बनाएको छ । जसलाई लिचेड भनिन्छ तर, अहिले त्यसलाई लिच्चड पनि भन्न थालिएछ । त्यसलाई शुद्धीकरण गर्ने र सफा बनाएर खोलमा हाल्नुपर्ने साटो सिधै खोलामा पठाइएको छ ।
सिसडोलमा पहिले हामीले पोखरी पनि देख्थ्यौँ, पाइप गाडेका ठाउँ पनि देख्थ्यौँ, पाइपबाट निस्केको ग्यासको नास्टबाट केही नाप जाँच पनि गरेका थियौँ । तर, अहिले त्यस्ता चिज केही पनि देखिँदैन । सिसडोलले आफ्नो धान्न सक्ने क्षमताभन्दा बढी भइसकेको कारणले सिसडोललाई बन्द गर्नुको विकल्प छैन । यो भनेको सामान्य देखिएको कुराको निष्कर्ष हो ।
अर्को भनेको लिचेडलाई खोलामा मिसाउनुपर्ने हुन्छ । साथै गन्धलाई नियन्त्रण गर्नको लागि क्यापिङ अथवा ट्यापिङ गरेर त्यसलाई रोक्नुपर्ने हुन्छ । साथै फाेहर लैजाने गाडीलाई सहज ढङ्गले लैजान नदिने हो भने बस्तीसम्म रोकिएका दुर्गन्धित गाडीले धेरै बासिन्दालाई पनि प्रभावित पारेको हुनाले जाने /आउने बाटो सहजीकरण गर्नुपर्ने तत्कालको आवश्यकता हो ।
अब सिसडोलमा फाेहर लगेर फाल्नु खतरनाक मात्र नभएर जोखिमयुक्त काम पनि हो । भोलि त्यहाँ जुन अहिले ग्यास निस्किरहेको छ त्यो एकैचोटी पहिरोको रुपमा गयो भने त्यहाँ रहेको मिथेन ग्यास एकैपटक बाहिर आउन सक्छ जसले गर्दा ठूलो दुर्घटना निम्त्याउन सक्ने सम्भावना पनि उत्तिकै छ ।
अब यसलाई हेलचेक्र्याइँ गरेर पर्ख र हेर भनेर जाने बेला अहिले हामीसँग छैन । हामी सबै मिलेर सिसडोललाई व्यवस्थापन गरेर बञ्चरेडाँडामा सर्नु मात्रै एउटा मात्र हतियार हो भन्ने लाग्छ ।
सिसडोलबाट सिकेर बञ्चरेडाँडा व्यवस्थापन
बञ्चरेमा पनि हामीले मुख्य रुपमा लिचेडहरु तल थिग्रिएर बस्न सक्छन् त्यसकारण त्यसलाई तलबाट प्लास्टिकले तलबाट छोपेर राख्यौँ भने माटोमा अथवा अक्वेटिक लाइफमा पुग्न सक्दैन हामी त्यसलाई जोगाउँछौँ । पछि त्यसलाई हामी कुनै न कुनै ठाउँमा बोण्डमा लगेर सङ्कलन गर्न सक्छौँ ।
अहिले पनि हामीले के देखिराखेका छौँ भने सिधै फाेहर लगेर थन्क्याउने काम गरिराखिएको छ । त्यसलाई सकिन्छ भने त्यहाँभन्दा तल अलि बलिया प्लास्टिक ओच्छ्याएर मात्र राखेको खण्डमा तिनीहरुले मात्र केही न केही मात्रामा लिचिङ हुनबाट जोगाउँछ । त्यसरी थप्दै जाने गर्नुपर्छ ।
जति हामीले फाेहर थप्दै जान्छौँ त्यसलाई व्यवस्थापन गर्दै निस्किएको मिथेन ग्यासलाई पाइपबाट सङ्कलन गरेर बाहिर निकालेर बाल्ने गर्नुपर्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको व्यवस्थापन नै हो । जुन परिणाममा गएर हामीले ल्याण्ड फिलिङ गरिरहेका छौँ यो आवश्यक छैन, गर्नुहुँदैन । यसका वैज्ञानिक विधिहरु नअपनाइएको कारणले सिसडोलमा जुन समस्या आएको छ कुहिने फाेहरलाई त्यहाँ लगेर विर्सजन गर्नु नै प्रत्युत्पादक हो । त्यसलाई अर्कै तरिकाले विसर्जन गर्नुपर्ने हुन्छ । नकुहिने फाेहर, धातुका काम नलाग्ने वस्तु, कुनै पनि प्रकारले पुनः प्रयोग गर्न नसकिने वस्तुमात्र विसर्जन गर्नुपर्ने ठाउँका रुपमा हामीले बञ्चरेडाँडालाई प्रयोग गर्नुपर्ने हुन्छ ।
केही नगरपालिकाले फाेहरलाई मल बनाउने तथा ग्यास बनाउने गरिएको छ । त्यो एकदमै राम्रो छ । धरान तथा लहान नगरपालिकाको उदाहरण दिउँ । केही नगरपालिकाले राम्रो काम गरिरहेका छन् । त्यो अनुकरणीय छ । तर, उहाँहरुको पनि समस्या के छ भने नकुहिने फाेहरको वर्गीकरण छैन । कसरी छुट्याएर त्यहाँसम्म लैजान सकिन्छ भन्ने कुरा, यातायात व्यवस्थापनका कुरा त्यहाँ अहिले पनि समस्याका रुपमा रहेका छन् । अब त्यहाँबाट निस्किएको फाेहरलाई बारीसम्म र किसानको हातसम्म कसरी लैजाने भन्ने प्रणाली अझै त्यहाँ पनि व्यवस्थित गर्न सकिएको छैन ।
फाेहरमा राजनीतिभन्दा अज्ञानता
फाेहरभित्र राजनीतिभन्दा पनि मलाई भने सबैभन्दा ठूलो समस्या भनेको अज्ञानता हो भन्ने लाग्छ । राजनीतिभन्दा बढी अज्ञानता हो । राजनीतिज्ञहरुले केही न केही गुमराहमा राखेर केही न केही आफ्नो पोल्टामा पार्न खोज्नुभएको होला त्यो आफ्नो ठाउँमा छ । तर, उहाँहरुले पनि नबुझिकन गरिरहनु भएको छ । उहाँहरुलाई पनि गर्ने विधि के हो भन्ने पनि त मेसो हुनुपर्यो नि ।
रेल चलाएको ड्राइभरलाई देख्दा लामो रेल हिँडेकोे मात्र देख्नुहुन्छ तर त्यसको ड्राइभिङ गर्ने कुरा, इन्जिन चलाउने कुरा, त्यसलाई बिग्रिएको बेलामा बनाउनेदेखि सबै कुरा नजानेसम्म तपाईँको आँगनमा रेल हिँड्दैन भने जस्तै हामीले फाेहर व्यवस्थापन भएको अर्को एउटा सहर हेरेर दुई हप्ताको जानकारी लिएर गर्न थालियो भने यो सम्भव छैन । त्यसकारण जुन प्राविधिक ज्ञान जरुरी छ त्यो ज्ञान उहाँहरुसँग छैन र प्राविधिक ज्ञानलाई प्रयोग गर्ने हिच्किचाहट छ त्यसले गर्दा यो काम भइरहेको छैन ।
यो गर्नै नसकिने पनि होइन । यसका लागि ठूलो खर्च पनि लाग्दैन । केही न केही प्रविधि भित्र्याउँदै भित्र्याउँदै जाने हो भने काठमाण्डौमा पनि ३२ वटा वडा छन् त्यसमा १०/१५ वटा त्यस्ता प्रोसेसिङ प्लान्ट राख्ने हो भने काठमाण्डौको जम्मै फाेहर यहीँ सकिन्छ ।
तपाईँ हामी सचेत नागरिकले बुझ्नुपर्ने कुरा चाहिँ पहिले कुहिने फाेहर कुन हो र नकुहिने फाेहर कुन त्यहाँबाट चिन्नुपर्यो । नकुहिने फाेहरमा पनि प्लास्टिक र फलामलाई एकै ठाउँमा हालियो भने त कसैले पनि त्यसलाई पुनः प्रयोग गर्न सक्दैन । त्यसकारण कुहिने र नकुहिने भनेर महानगरपालिका जान खोजिरहेको छ त्यहाँ पनि बुझाउन जरुरी छ । त्यहाँ भित्र पनि अझै फाेहर छुट्याउनु पर्ने हुन्छ ।
फाेहर छुट्याउनको लागि भोलि हामी अझ १५/२० वटा समूहमा फाेहरको वर्गीकरण गर्न सक्छौँ । तर, अहिले हामीले गर्नुपर्ने के हो भने कुहिने फाेहरलाई एउटा भाँडोमा, अर्को भनेको हामीले धेरै प्रयोग गर्ने तथा संसारमा सबैभन्दा सजिलै पुनः प्रयोगमा आउन सक्ने वस्तु हो प्लास्टिक यसलाई एउटा वर्गमा, अर्को भनेको फलाम तथा आल्मुनियम जस्ता धातुलाई एउटा वर्ग, सिसालाई एउटा वर्गमा तथा कागजलाई एउटा वर्गमा राख्ने हो भने ठूलो लगानी गर्ने अवस्थाबाट देशलाई जोगाउन सकिन्छ ।
अर्को भनेको हाम्रो मोबाइल, टेलिभिजन, ल्यापटप जस्ता सामान बिग्रियो भने त्यहाँ भित्र बहुमूल्य सामान राखिएका हुन्छन् । जस्तो मेरो विद्यावारिधि के मा थियो भने मोबाइल फोन भित्र भएको सुनलाई बाहिर निकाल्ने । त्यसमा गँगटाको बाहिरी खपटालाई केही मेटेरियलमा मोलिकुलर सिन्थेसिस गरेर रुपान्तरण गरेर सुनलाई मात्र समात्न सक्ने विषय थियो ।
जापानले कसरी विकास गर्यो त भन्ने कुरामा अझ प्रष्ट पार्न चाहन्छु । उसले मोबाइल फोनको सुन किन खोजिराखेको छ त भन्दा उसले सन् २०२० को ओलम्पिक खेलमा बाँडिएको सुन यिनै मोबाइल तथा कम्प्युटरबाट निकालेको सुन थियो । त्यसकारण यस्ता चिजलाई हामीले फालिरहेका छौँ ।
अहिले नेपालभरि भएका सबै मोबाइल फोन एक ठाउँमा राख्ने हो भने १४ अर्बको सुन निकाल्न सक्छौँ । त्यो सबैले चिन्न त सक्दैनौँ होला तर, मोबाइल एक ठाउँमा राख्न त सक्छौँ नि । त्यसकारण बिग्रेको मोबाइल तथा कम्प्युटर, ल्यापटप खोज्न आउने पनि हुन्छन् । इलेक्ट्रोनिक ग्याजेट जतिलाई एक ठाउँमा राखिदिनु भयो भने यसमा सुन हुन्छ, प्यालेडियम हुन्छ, प्लेटिनम हुन्छ, कपर हुन्छ, सिल्भर हुन्छ, जिङ्क हुन्छ यी सबै चिज भनेको अर्को मोबाइल सेट बनाउनका लागि नभइ हुँदैन ।
यसमा आर्थिक रुपमा एक जनाले बसेर कोट्याउँदै गर्दा नाफा नहोला तर देशभरि यसरी बिग्रिएका मोबाइल सङ्कलन गरेर सुन निकाल्न थाल्यौँ भने दुई वटा काम हुन्छ । एउटा हामीले बाहिर दिने पैसा रोकिन्छ । अर्को भनेको यसरी सुन खानीबाट निकाल्दै मोबाइलमा हालेको सुन सिसडोलमा लगेर गाड्ने हो भने के हुन्छ । सुन त सकिन्छ । तामा, आल्मुनियम सबै सकिन्छ । यसरी धातु सकिन्छ । यसकारण मोहोर मात्र नभइ धातु पुनः प्रयोगमा केन्द्रित भएर काम गरेनौँ भने स्थिति जटिल हुन्छ । यसले पनि मैले के फालिरहेको छु भन्ने नागरिकले पनि थाहा पाउनु जरुरी छ।
प्लास्टिकबाट डिजेल
मोबाइलमा भएको सबै धातु निकालिसकेपछि बाँकी रहेको प्लास्टिकबाट नास्टले डिजेल बनाइरहेको छ । यस्तो एक किलो प्लास्टिकबाट एक लिटर डिजेल बनाइरहेको छ नास्टले । त्यसको नेतृत्व म आफैँले गरिरहेको छु ।
एक जना नेपालीले अहिले दिनमा ३ सय १७ ग्राम फाेहर फाल्ने गरेको छ । जसमा १२ प्रतिशत प्लास्टिक हुन्छ । सबै प्लास्टिकबाट डिजेल निकाल्न नसकिए पनि यस्ता प्लास्टिक मध्ये औसतमा ६० प्रतिशतबाट डिजेल निकाल्न सकिन्छ । सबै प्लास्टिक जम्मा गरेर डिजेल निकाल्ने हो भने वार्षिक १४ अर्बको डिजेल त्यहाँबाट पनि निस्कन्छ ।
अहिले हाम्रा धेरै नगरपालिका तथा अन्यले पनि प्लास्टिक राति बाल्ने गरिरहेको पाइन्छ जुन हावामा गएर हाम्रो फोक्सोमा जान्छ र त्यसमा रहेको कार्सिनोजेनिकका कारण क्यान्सर हुनसक्ने खतरा हुन्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) भनेको अनुसन्धान गर्ने संस्था हो । हामीले कुन प्लास्टिकबाट कति डिजेल निस्कन सक्छ भनेर तथ्याङ्क सङ्कलन गर्छौँ । कति डिग्रीमा के निस्कन्छ भनेर अनुसन्धान गर्छौँ । त्यसबाट निस्केको निष्कर्षलाई लगानीकर्तामार्फत उद्योगमा लैजान पहल गर्छौँ ।
होटल अथवा उद्योग, कारखाना वा अन्यत्रबाट निस्कने फाेहरमा पनि बेलुका सबै काम सकिएपछि थन्क्याउने बेलामा विभिन्न किसिमको फाेहर हाल्ने भाँडो राखेर छुट्याउन सकिन्छ । यसरी समग्रमा सङ्कलन गर्ने एउटा विधि बनाउनु पर्ने हुन्छ ।
हरेक घरबाट निस्किसकेपछि एउटा सानो समूह बनाउँ । यसो गर्दा मैले तपाईँको घरबाट निस्किएको फाेहर हेर्छु र देख्छु पनि । एकले अर्कोलाई निगरानी गर्ने र खबरदारी गर्ने भएपछि सजिलो हुन्छ । यसका लागि टोलमा एउटा सङ्कलन केन्द्र बनाउने र तपाईँहरुले नै फाेहरमैला व्यवस्थापन गर्ने भनेर सामुदायिक जिम्मेवारी बुझाउने हो भने बल्ल एकले अर्कोलाई निगरानी गर्दै व्यवहार अथवा आचरणमा निस्कन्छ । यो काम गर्न सक्ने तथा गर्ने भनेको नै वडाले हो ।
व्यवस्थापनका लागि क्षेत्र छुट्याइने
अहिले भइरहेको फाेहर व्यवस्थापनका लागि कुहिने फाेहरका लागि विभिन्न क्षेत्र बनाउने हो भने महानगरले सजिलै व्यवस्थापन गर्न सक्छ । यसलाई चक्रपथ भित्र र बाहिर अर्थात घना बस्ती, व्यापारिक घरहरु र उद्योगको प्रकृति फरकफरक हुने हुनाले त्यस्ता विभिन्न क्षेत्र बनाएर विभिन्न सङ्कलन केन्द्र बनाउने । र, त्यहाँबाट निस्कन सक्ने कुहिने फाेहरलाई केही वडाहरु एक ठाउँमा राखेर वडाहरुले नै एउटा प्रशोधन केन्द्रको रुपमा मल बनाउन पनि सक्छन् ।
कुहिने फाेहरलाई खरानी बनाएर जलाउनुभन्दा अर्ग्यानिक कार्बनको रुपमा निकाल्न सक्छौँ । कार्बनको जीवन भनेको एक हजार वर्ष हुन्छ । त्यसलाई माटोमा लगेर हाल्ने हो भने मलको काम गर्छ । र एक हजार वर्षसम्म कार्बन सिकोस्ट्रेशनको रुपमा जमिनमा थन्क्याउन सक्छौँ जसले वायुमण्डलमा कार्बनडाइअक्साइड थप्ने काम रोक्छ । त्यसकारण अहिले फालिएका जम्मै फाेहरलाई कि कम्पोष्ट बनाउँ कि चारकोल बनाउँ । यो एकदमै उपयुक्त विधि हो । यो पाइरोलाइसिस विधि हो र एकदमै सस्तो पनि छ । यसमा हामीले अनुसन्धान पनि गरिरहेका छौँ ।
हामीले गण्डकी प्रदेशलाई बुझाएको प्रतिवेदनको आधारमा गोरखा जिल्लामा चारकोल उत्पादन गर्ने कम्पनी स्थापना भएको छ । फाेहरमैलाबाट नै चारकोल बनाउने उद्योग सञ्चालन गर्यौँ भने यसले मलको रुपमा काम गर्छ । माटोको स्वास्थ्य सुधार्छ । माटोको पीएच लेभल बढाउने काम गर्छ । त्यति मात्र नभएर हामीले चारकोल लगेर वाग्मतीमा हालिदिने हो भने यसले वाग्मती पनि सफा गर्न सक्छ ।
नकुहिने फाेहरको सन्दर्भमा प्लास्टिकको पुनः प्रयोग गरौँ । भएन भने त्यसलाई रिसाइकल गरौँ । रिसाइकल गर्न नसकिने भयो र जस्तो अलिकति कोटिङ भएको आल्मुनियम, चाउचाउ अनि चकलेटका खोलहरुमा अरु धातु मिसिएको कारणले गर्दा त्यसलाई रिसाइकल गर्न सकिँदैन ।
पाइरोलाइसिस विधि प्रयोग प्रयोग गर्ने हो भने प्लास्टिकबाट डिजेल निकाल्न सकिन्छ । प्रतिदिन १० टनको हारहारीमा प्लास्टिक प्रशोधन गर्ने हो भने हामी ६ सय लिटर डिजर यहीँ काठमाण्डौबाट निकाल्न सक्छौँ । त्यो भनेको अहिले हाम्रो वर्षमा १ सय १२ टन जुन प्लास्टिक निस्कन्छ त्यसबाट ठूलो परिमाणमा हामी यहीँ डिजेल निकाल्न सक्छौँ । करिब करिब दुई अर्ब जतिको डिजेल काठमाण्डौ उपत्यका भित्रबाट एक वर्षमा निकाल्न सकिने तथ्याङ्क मैले निकालेको छु ।
फाेहरलाई छुट्याउने प्रविधि पनि हुन्छ तर महँगो पर्छ । मान्छेले जसरी फलाम चिन्छ मेसिनलाई फलाम चिन्नको लागि चुम्बक भएको प्रविधि चाहियो । प्लास्टिकलाई चिन्नको लागि अर्कै खालको सेन्सर हाल्नु पर्यो । पानीमा घुलेर कुन गह्रौँ छ वा हलुका छ भन्नका लागि यो नेपालले धान्न सक्ने विधि होइन । अमेरिकाले, जापानले किन मान्छे लगाएर छुट्याउन लगाएको छ भन्दा त्यो विधि निकै सस्तो पर्छ । उनीहरुसँग पैसा नभएर त्यसो गरेका होइनन् । यसरी मान्छे लगाएर छुट्याउँदा निकै सस्तो पर्ने कारणले यसो गरिएको हो ।
उपयुक्त प्रविधिको छनाेट
अहिले भनेको जति सक्दो चाँडो उपकरण खरिद र कुन प्रविधि काठमाण्डौको लागि उपयुक्त हुन्छ भन्ने निर्धारण गर्नका लागि महानगरपालिकाले विज्ञहरुसँग बसेर छलफल गर्नुपर्छ । यसमा एउटाको मात्र भर नपरि विभिन्न विज्ञहरुसँग बस्दा उपयुक्त समाधान निस्कन सक्छ किनकि यसरी बस्दा अर्कोको नकारात्मक पक्ष पनि थाहा हुन्छ ।
कुहिने फाेहरलाई केही माइक्रो अर्ग्यानिज्म त्यहाँ हालिदिने हो भने त्यसलाई चाँडै कुहिने काम गराउँछ । त्यसको अर्थ गन्ध लामो समय आउँदैन । यो दीर्घकालीन समाधान होइन । केही समयको लागि समाधान हुनसक्छ ।
यसको लागि सबैभन्दा राम्रो भनेको वृक्षरोपण नै हो । वृक्षरोणको लागि त्यो सबै क्षेत्रलाई पुग्ने गरी घाँसे वनस्पतिहरु लगायौँ भने छिटो पनि उम्रन्छ र त्यसको जराहरुले छिटो पनि सोस्छ । सोसिसकेपछि हामी दुई वटा काम गर्न सक्छौँ । एउटा फाइटोरिमिडिएशन अर्थात विरुवाले त्यहाँ भएका फाेहरलाई हटाउने ।
अर्को भनेको फाइटोमाइनिङ । यो भनेको ल्यान्डफिल साइटमा पनि तामा, निकेल, आल्मुनियम आदि पाइन सक्छ र त्यस्तो चिज लामो समय टुक्रिएपछि बिरुवाले आफूसँग लिन्छ र त्यसलाई हामीले लगेर पोलिदियौँ भने सजिलोसँग खरानीबाट ती धातुहरु बाहिर निकाल्न पनि सकिन्छ ।
भोलि यदि हामीलाई धातुजन्य पदार्थको अभाव हुन लाग्यो भने त्यो अन्तिम अचुक हतियार प्रयोग गर्न भुल्नु हुँदैन भन्ने मलाई लाग्छ ।
(नास्टका वरिष्ठ वैज्ञानिक ढकालसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रविन्द्र प्रसाद ढकाल नास्टका वरिष्ठ वैज्ञानिक हुनुहुन्छ ।