संसदमा प्रधानमन्त्रीको अनुपस्थिति : खेद प्रस्ताव पारित गराैँ - भीम रावल, अपमान भन्न मिल्दैन - पुष्पा भुसाल

 असार ५, २०७९ आइतबार १२:१३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर विवाद भएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदले प्रधानमन्त्री देउवाको आलोचना गरेपछि कांग्रेस सांसद बचाउमा उत्रिएका छन् । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताउनु भएको छ ।

समितिको बैठकले यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने उहाँको भनाइ छ । एसपीपीबारे प्रधानमन्त्री देउवाको जवाफ माग गरिएको तर जवाफ दिन प्रधानमन्त्री अनुपस्थित हुनुले आशङ्का उब्जाएको उहाँको टिप्पणी छ । उहाँले एसपीपीमा संलग्न हुँदैनौँ भनेर अमेरिकालाई पत्र पनि नलेख्ने र समितिमा पनि नआउने कुराले प्रधानमन्त्रीमाथि शङ्का उत्पन्न भएको बताउनु भएको हो ।

यसैबीच, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री देउवाको बचाउ गर्नु भएको छ । उहाँले देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान भन्न नमिल्ने बताउनु भएको छ। भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गर्नु भएको छ ।

अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा विवाद उत्पन्न भएपछि जवाफ दिन समितिले आज प्रधानमन्त्री देउवालाई बोलाएको थियो । समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री बैठकमा नगएर संसदीय समितिलाई अपमान गरेको बताउनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया