नयाँ भरतपुर सबस्टेशनकाे काम २ महिनाभित्र सक्न कुलमान घिसिङकाे आग्रह

 असार ५, २०७९ आइतबार १६:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका ११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेशनको निर्माण झन्डै ८० प्रतिशत सकिएको छ । सबस्टेशन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका निर्माणाधीन सबस्टेशनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । 'ग्यास इन्सुलेटेड सबस्टेशन (जीआईएस)' प्रविधिमा आधारित सबस्टेशनका धेरैजसाे उपकरणहरू निर्माण स्थलमा ल्याइसकिएको छ । अब ती उपकरण जडान गर्नमात्र बाँकी छ । सबस्टेशनमा १६०/१६० एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचना निर्माण भइसकेको छ भने ट्रान्सफर्मर जडान गर्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशन निर्माणस्थलको भ्रमण गरी दुई महिनाभित्र काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीसँग निर्माण प्रगति बेहोरिरहेको समस्यालगायतका विषयमा छलफल गरी दुई महिनाभित्र सबस्टेशन सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो ।

आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेशन निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग झन्डै दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । कोभिड–१९ को महामारीका कारण सबस्टेशन निर्माण प्रभावित भएको थियो । तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना पनि नयाँ भरतपुर सबस्टेशनमा नै जोडिने छ ।

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट झन्डै एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ झन्डै एक सय १३ किलोमिटर छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेज अन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेशनसम्मको झन्डै ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेज अन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेशन निर्माणाधीन छन् । तेस्रो प्याकेज अन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेशन निर्माण भइरहेको छ । यस प्याकेज अन्तर्गत खुदी र धारापानीमा सबस्टेशन निर्माणाधीन छन् ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (ईआईबी) को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत झन्डै १६ अर्ब रुपैयाँ छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया