मूल्यवृद्धिबारे जवाफ दिन सभामुखद्वारा सरकारलाई रुलिङ, नागरिकलाई छाक टार्नै समस्या भयो : एमाले

 असार ६, २०७९ सोमबार १४:५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सभामुख अग्नि प्रसाद सापकोटाले मूल्यवृद्धिबारे संसदलाई जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । 

प्रतिनिधि सभाको आज साेमवारको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकको दैनिकी नै ठप्प हुने गरी महँगी बढिरहेको भन्दै सम्बन्धित मन्त्रीले यसको जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएपछि सभामुख सापकोटाले यो विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको र सरकारलाई सत्य/तथ्य जानकारी गराउन रुलिङ गर्नुभएको हो । 

सभामुखको रुलिङपछि एमालेका सांसदले बैठक चल्न दिएका छन् । यसअघि एमालेकी सांसद पद्मा अर्यालले हप्तैपिच्छेको मूल्यवृद्धिले नागरिकलाई छाक टर्न पनि समस्या हुने अवस्था आएकोले यस्तो अवस्थामा आफ्नो दल चुप लागेर बस्न नसक्ने बताउनुभयो । ‘यति छोटो–छोटो समयमा यति धेरै मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई किन आइलाग्यो, यसको जवाफ हामी चाहान्छौँ, नागरिकको जीवनसँग जोडिएको यो प्रश्नको जवाफ मन्त्रीले यहाँ दिनैपर्छ’, अर्यालले भन्नुभयो । 

नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २१ र डिजल तथा मट्टीतेलमा २७ रुपैयाँ मूल्य बढाएको छ । पेट्रोलियम पदार्थमा भएको चर्काे मूल्यवृद्धिले बजारमा अरू सामानको भाउ पनि निक्कै बढेको छ । मूल्यवृद्धिबाट मध्यम र निम्न आय भएका नागरिक सबैभन्दा धेरै मारमा परेका छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया