एसपीपी चाहिँदैन भनेर अमेरिकालाई पत्र किन नपठाएकाे, कसले राेक्याे ? : रावल

 असार ६, २०७९ सोमबार १८:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् सांसद भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोगाम (एमपीपी) मा सहभागी नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको छ । 

आज सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागी नहुने भनेर अहिलेसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले अमेरिकाले नेपालले सम्झौता रद्द गर्न सक्ने भनेर भनेको भए पनि नेपाल सरकारले पत्राचार गर्न नसकेको बताउनुभयो । 

नेता रावलले पत्र नपठाउनुको कारण के हो ? भनेर सरकारलाई प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकी राजदूतावासले नेपालले चाह्याे भने एसपीपीकाे सदस्यता रद्द गर्ने सक्छ भनेर भनिराखेको छ । तर बालुवाटारमा बैठक बसेर गठबन्धनका नेताहरू सर्वदलीय बैठक बोलाउने भन्ने कुरा आइरहेकाे छ । साझेदारी कार्यक्रममा संलग्न हुने बेलामा सर्वदलीय बैठक चाहिएन । अनि यो नेपाल सैनिक अखडा हुन सक्दैन । यो हिन्द प्रशान्त रणनीतिको अङ्ग हुन सक्दैन भनेर नेपाली जनताले व्यापक रूपमा आवाज उठारहेका छन्, संसदमा सैनिक गठबन्धनमा नजान आवाज उठिरहेकाे छ । अनि सरकारले हामी एसपीपीमा आबद्ध हुन चाहँदैनाैँ भनेर पत्र किन नपठाएको त ? कसले रोक्यो त ? प्रधानसेनापति हुनु हुँदैन भन्ने । परराष्ट्र मन्त्री हामी हुँदैनौँ भन्ने । गृह मन्त्री संसदमा हुँदैनौँ भन्ने । गठबन्धनका नेताहरू यो त हुनु हुँदैन भन्ने । अनि पत्र रोक्ने हात समात्न आएको को रहेछ त ?’

नेता रावलले आउँदाे चुनावमा समान विचार, दर्शन र कार्यक्रम भएकाहरूसँग मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिनुभयो । विपरीत सिद्धान्त भएकाहरूबीचको गठबन्धन अनैतिक हुने उहाँको तर्क थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया