नेपालका भूकम्प पीडितको कथा सुनेर बेलायती सांसद भावुक

 असोज ६, २०७५ शनिबार १९:४०:१७ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्प पीडितको कथा सुनेर भावुक बनेका छन् ।

विसं २०७२ को भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमूलक भेट भयो’, भाग्यले बाँचेकाहरुसँगको प्रत्यक्ष भेटघाटपछि उनले भने । नेपालको एकसाता भ्रमणका लागि गएको सोमबार काठमाडौँ आइपुगेका गेथिन्सले शनिबार ‘भाग्यले बाँचेकाहरु’ का पात्र दैलेखका रमेश खत्री, मकवानपुरकी प्रिया विश्वकर्मा र लमजुङकी बबिता सेढाईंलाई भेटेका थिए ।

काठमाडौँको नयाँ बसपार्कमा भूकम्पमा परेर खत्रीले दुवै खुट्टा गुमाएका थिए । यसैगरी, काठमाडौँ काभ्रेस्थलमा डेरा गरी बसेका घरले किच्दा विश्वकर्माको एउटा खुट्टा गुमेको थियो । सेढाईं भने धरहराबाट खसेर बाँचेकी हुन् ।

‘भाग्यले बाँचेकाहरु’ टिमका तर्फबाट सांसद गेथिन्स, लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्ब र वेस्टमिन्स्टर फाउण्डेशन फर डेमोक्रेसीका सिनियर कार्यक्रम अधिकृत एलेक्शजेन्डर सिमलाई शनिबार काठमाडौँमा सम्मान गरिएको थियो ।

सांसद गेथिन्सकै पहलमा गएको वर्ष भूकम्पको दोस्रो वार्षिकी पारेर ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसद्मा प्रदर्शन गरिएको थियो । ‘नेपालको वृत्तचित्र फिल्म बेलायतको संसद्मा प्रदर्शन हुनु नेपालीका लागि पनि गौरवको विषय हो ।

नेपालका भूकम्प पीडितका विषयमा उनले देखाएको चासो, चिन्ता, ऐक्यबद्धताको कदर गर्दै हामीले सांसद गेथिन्स र उहाँको टिमलाई सम्मान गरेका हौँ’, भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भन्नुभयो, ‘सांसद गेथिन्स निकै भावुक हुनुभयो ।’ 

२०७२ सालको भूकम्पको कथामा बनेको भाग्यले बाँचेकाहरुले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । यो बेलायतको संसदमा प्रदर्शन हुने पहिलो नेपाली वृत्तचित्र फिल्म पनि हो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया