माधव नेपालले सन्न्यास लिए हुन्छ : याेगेश भट्टराई

 असार १२, २०७९ आइतबार १९:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्न्यास लिएर बस्न सुझाव दिनुभएको छ । 

आज आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकोले सन्न्यास लिएर बस्न सुझाव दिनुभएको हो । उहाँले केही दिनअघि अध्यक्ष नेपालले १० भाइ एमालेका दास हौ, तिमीहरूले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपालजत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयाे, ‘माधव नेपालजस्तो शीर्ष नेताले त्यो ढङ्गले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनुपर्छ । अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ । राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु ? उहाँको आउँदाे अवकाशको जीवन राम्रो बितोस् । उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो । असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरूलाई रिलाइजेशन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी सुम्पेर आफू आनन्दले बस्ने हाे । सन्न्यासी मान्छेले मुख छोड्दै हिँड्दैन ।’

सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरूले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताउनुभयो । उहाँले समाजवादीका नेताहरूले एमालेले सर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सबै नेताहरूले घमण्ड त्यागेर समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कम्युनिस्टहरूकाे जनमत लगभग दुई तिहाइ भए पनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको बताउनुभयो । उहाँले एकीकृत समाजवादी पार्टीले एकता गर्ने कुरा राखेका सर्तहरुमा छलफल हुन आवश्यक रहेकाे उल्लेख गर्नुभयाे । 

त्यस्तै नेकपा एमालेका सांसद खगराज अधिकारीले मूल घरमा फर्किन चाहनेहरूलाई एमालेले स्वागत गर्ने बताउनुभयो । आफ्नो बाटो गलत भयो भनेर समीक्षा गर्नेहरूलाई एमालेले क्षमताअनुसारको जिम्मा दिने पनि उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया