विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न गृह मन्त्रीकाे निर्देशन

 असार १५, २०७९ बुधबार २०:१६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गृह मन्त्री बालकृष्ण खाणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । 

आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो । उहाँले प्राकृतिक विपद्का कारण सडकमा क्षति हुँदा जनधनको क्षति हुने, आवत–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भीर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

मन्त्री खाणले प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरूलाई तयारी अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल त्यहाँ पुगेर आवश्यक भूमिका निर्वाह गर्न पनि निर्देशन दिनुभयो । उहाँले सरकारको मातहतका सरोकारवाला निकायको पूर्वतयारी सन्तोषजनक रहेको उल्लेख गर्दै अहिले गरिएको तयारीले विपद्को सामना गरी नागरिकको जीवन रक्षा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।  

विपद्को समयमा सूचना र सञ्चारको तत्काल आवश्यकता पर्ने भन्दै मन्त्री खाणले यसतर्फ दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण पनि गराउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया