‘जहाँ भोको पेटले दानापानी मागेको हुन्छ...’

 असार १८, २०७९ शनिबार १८:८:५६ | बेदानन्द जाेशी
unn.prixa.net

जहाँ भोको पेटले दानापानी मागेको हुन्छ
अन्याय र अत्याचारले जहाँ सीमा नाघेको हुन्छ....
जनगायक जीवन शर्माको यो गीतले भोको पेट र त्यसैमाथि भएको अत्याचारको विरुद्ध बोलेको छ । हिजो काठमाण्डौ महानगर प्रहरीले ठेलामा मकै बेच्ने एक महिलामाथि गरेको ज्यादतीको भिडियो सामाजिक सञ्जालमा हेर्दा मलाई यही गीतको याद आयो । आखिर यो गीत पनि त शासकको विरुद्ध अधिकार खोज्नेहरुको आवाज हो । भोको पेटको आवाज हो ।

आफू पत्रकार भएकाले म सडकसँग साइनो गाँस्न रुचाउँछु । आम मानिसका भोगाइलाई पत्रकारिताका मुद्दा हुन् ठान्छु । भ्याएसम्म उनीहरुका पीडालाई सञ्चार माध्ययममा समेट्ने प्रयास गर्छु । नभ्याए, कविता गजल र फेसबुकमा स्ट्याटस भएर पोखिन्छन् । त्यो भिडियो हेरिरहँदा चारपाँच वर्ष पहिले रिपोर्टिङ गर्दाका केही विस्मृत सम्झनाले मेरो दिमागमा ढ्याङ्ग्रो ठोके । त्यतिबेला रिपोर्टिङका क्रममा मैले देखेका केही दृश्य यस्ता थिए :

दृश्य  १
रत्नपार्कमा ठेलामा पानीपुरी र चटपटे बेचिरहेका सर्लाहीका एकजना । नाम ठ्याक्कै याद भएन । उमेर पचास कटेका । पाँच छोरीका बुवा । तराईमा छोरीको बिहे गर्दा आफ्नो क्षमताभन्दा बढी दाइजो दिनुपर्ने समस्या । उनले बताएअनुसार एक छोरीको बिहेमा कम्तीमा पाँच लाख रुपैयाँ खर्च लागेको । तीन छोरीको बिहे गर्दा १५ लाख रुपैयाँ सकियो । यो सबै पैसाको जोरजाम उनले काठमाण्डौमै पानीपुरी र चटपटे बेचेर गरेका ।

उनी भन्दै थिए, ‘के गर्ने हजुर, अझै दुई जना छोरी छन्, उनीहरुको बिहे भइदियो भने त म घर फर्किन्छु ।’

दृश्य  २
रातको ११ बजे । गोङ्गबु नजिक बीजी मल अगाडि थर्मसमा बोकेर चिया बेच्दै गरेका दार्चुलाका एक युवक । उनको पनि नाम याद भएन । काठमाण्डौमा आउनुको कारण – कोरियन भाषाको तयारी गर्ने । कोठा भाडा तिर्ने पैसा नभएपछि घरबेटीले निकालिदिए । त्यसपछि दिनमा भाइ नाता पर्ने एक जनाको कोठामा गएर आराम गर्ने र रातभरि बसपार्क, गोंगबुमा चिया बेच्ने गर्न थाले । 

‘यसरी काम गरेर कमाएको पैसाले कोरियन भाषा परीक्षाको तयारी गर्दै छु’, उनले भनेका थिए ।

दृश्य  ३
ललितपुरकी सीता तामाङ । देशले मुहार फेर्छ भनेर वि.स. २०६२/६३ काे जनआन्दाेलनमा भोकप्यासै होमिएकी एक विद्रोही महिला । काठमाण्डौ त अमेरिका जस्तै होला र छोराछोरीलाई राम्रो शिक्षा दिन सकिएला, सरकारले सित्तैमा पढाइदेला भन्ने आशा पालेकी एक आमा । तर देशमा जस्तो परिवर्तन आयो भने पनि आफ्ना दुःख ज्युँ का त्युँ रहेपछि सडकछेउमा मकै पोलेर बेच्दै गुजरा गरिरहेकी एक विवश नारी ।

उनको गुनासो थियो,–‘सरकारले त सबैलाई रोजगारी दिने, कसैले गरिब नि हुन नपर्ने भनेको थियो, ख्वै त अहिले त्यस्तो भएको ?’

काठमाण्डौ महानगर प्रहरीले ठेलामा मकै बेच्नेमाथि हिजो गरेको व्यवहारले मलाई फेरि उनै सीता तामाङको यादलाई पुनर्ताजगी गरायो । सोचेँ, उनले सडकछेउमा मकै पोल्न नपाए, छोराछोरीको पढाइ खर्च कसरी जुटाउँछिन् होला ? 

त्यही यादको भेलमा दार्चुलाका ती युवा पनि फन्को मार्दै आए र भने – ‘मैले यसरी नै चिया बेचेर कोरिया गएँ नि !’ मेरो मानसपटलमा उनको आवाज गुञ्जेजस्तै साँच्चिकै उनी कोरिया गए होलान् या नहोलान् मैले पछि भेटेको छैन । तर उनले पनि चिया बेच्न नपाएको भए कोरियन भाषा तयारी गर्ने सपनालाई वाग्मतीमा सेलाएर लुरुलुरु घर फर्किन्थे होला । 

अनि पानीपुरी चटपटे बेचेर तीन जना छोरीको बिहे गरेका ती पुरुषको पनि याद आयो । सोचेँ, –‘बाँकी दुई छोरीहरुको बिहे भयो होला कि नाइँ, उनी घर फर्के होलान् कि नाइँ ?’ 

यी तीन जना प्रतिनिधि पात्र मात्र हुन् । जो सडकलाई नै सहारा ठान्न बाध्य छन् । सडकमै सपना बुन्छन् । सडकबाटै घरपरिवारको गर्जो टार्छन् । काम गरेर खान्छन् तर हात फैलाएर माग्दैनन् । यस्ता हजारौँ पात्र छन्, जो काठमाण्डौ मात्र होइन देशका विभिन्न सहरमा फुटपाथमा जीवन धान्ने इलम गरिरहेका छन् । धुलो–धुवाँ, घाम–पानी नभनेर थोरै कमाइको लागि धेरै जोखिम मोलेर, डर त्रास सहेर बिहान बेलुकीको छाक टारीरहेका छन् । दुर्व्यवहारका साथ उनीहरुको गाँस खोस्ने महानगरको कदमलाई म निरंकुशताको पर्याय ठान्छु ।

सडकबाटै प्रजातन्त्र आएको हो । राजतन्त्र सडककै आन्दोलनले ढल्यो । सडकबाटै लोकतन्त्रको विजारोपण भयो । देशका ऐतिहासिक परिवर्तनहरुको साक्षी सडक नै हो । सम्पन्न र पुगेकाहरुले सडकमा ठेला थापेर बस्दैनन् । चियाको थर्मस र मकैका घोगा बोकेर फुटपाथ ओगट्दैनन् । सडकमा बास हुने भनेको भोका पेटहरुको हो । अभावहरुको हो । दमनले पिल्सिएकाहरुको हो । बेरोजगारहरुको हो । विद्रोहीहरुको हो । त्यसैले उनीहरुलाई व्यवस्थित ढंगले पुनर्स्थापन गर्नुको साटो हस्तक्षेप गर्नु, निरंकुश व्यवहार देखाउनु कानुनी राज्य र सुशासनको दायरामा पर्दैन भन्ने मलाई लाग्छ । 

मैले माथि नै भनेँ । म पत्रकार । आम मानिसका समस्यालाई पत्रिकारिताका मुद्दा बनाउँछु । तर यसो भनिरहँदा म राज्यप्रति गैर जिम्मेवार हुन मिल्दैन । राज्यको नीति नियम र कानुनको दायरामा रहेर आम मानिसले चल्नुपर्छ भन्ने मान्यता मेरो पनि हो । सडक छेउका ठेला, साँघुरा फुटपाथमा थापेका नाङ्ला पसल छलेर हिँड्नुपर्दा मलाई पनि कम्ता सास्ती हुँदैन । मलाई पनि रिस उठ्छ । तर जब त्यही नाङ्लो पसल र ठेलाको कमाइले कसैले आफ्नो परिवार चलाइरहेको छ भन्ने मैले बोध गर्छुँ, मेरो रिस मत्थर भएर जान्छ । जब म आफै बेरोजगार र अभावले थिचिएँ भने के गर्ने भन्ने कल्पना गर्छुँ, अनायासै मेरा नजर फुटपाथ वा चोक गल्लीका ठेला भएतिर दौडिन्छन् ।

सरकारले न कसैलाई बेरोजगार भत्ता दिएको छ, न त पर्याप्त रोजगारी नै सिर्जना गरेको छ । धेरै नेपालीको कमाइ गर्ने सजिलो विकल्प भनेको वैदेशिक रोजगारी र फुटपाथको व्यवसाय न हो । त्यही पनि सोचेजस्तो सजिलो त कहाँ छ र । वैदेशिक रोजगारीमा ठगिनेहरु र फुटपाथबाटै ठेलागाडा जफत हुनेहरुका पीडा उस्तै लाग्छन् मलाई । मैले यी दुवैले झारेका आँसु देखेको छु ।

अहिलेसम्म त सडकमा जीवन धान्नेहरुका कुरा भए, अब सरसफाइका कुरा गरौँ । खासमा महानगरको अहिलेको हस्तक्षेपको कारण भनेकै सरसफाइको मुद्दा हो । यो भन्दा पहिले सहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन भनेर ठेलागाडालाई बेलाबेला हटाउने गरेको भए पनि अहिलेको मुद्दा सहरलाई व्यवस्थित बनाउनुकाे साथै हैजा नियन्त्रणमा पनि केन्द्रित छ । फोहोर पानी तथा खुला खानेकुराले  हैजा फैलिने जोखिम देखेपछि महानगरले सडकमा खुला रुपमा खानेकुरा बेच्न नपाइने घोषणा गर्यो । सडकमा खुला राखेका खानेकुरा हटाउने आदेश पाएका महानगर प्रहरीले आफ्नो पुरानौ रुप देखाए । मकैलाई सडकमा असरल्ल फालेर ठेलालाई गाडीमा लादे ।

के यसरी मात्रै हैजा नियन्त्रण हुन्छ ? के सबै पानीपुरी बेच्नेहरुले फोहोर पानीको प्रयोग गर्छन् ? सटरभित्र खोलेका होटल भए पनि धुलो उड्ने ठाउँमा नढाकेरै खानेकुराका डिस्प्ले गरेका हुन्छन् । के उनीहरुले स्वास्थ्य मापदण्ड अपनाएका छन् त ? राम्रोसँग नधोएका प्लेटमा खाजा पस्किन्छन् कतिपय होटलमा । बासी खाना पस्केका एक/दुई ठाउँमा होटल सञ्चालकसँग म आफै पनि बाझिएको छु । के उनीहरुका यस्ता लापरबाहीले हैजा नफैलिने हो ? यसमा कमजोरी कसको ? के उनीहरुमाथि पनि निगरानी गर्नु सरकारको दायित्व होइन ? सरकारको ध्यान किन त्यता जाँदैन ? किन फुटपाथमा व्यवसाय गरिरहेकाहरु मात्रै निसानामा पर्छन् ? यस्ता घटना देख्दा लाग्छ, यहाँ सजाय मात्र छ, उपाय छैन ।

हिजै राति म गोंगबु चोकको एक रेस्टुरेन्टमा साथीसँग गफिएर १० बजेतिर आफ्नो कोठा जाँदै थिएँ । अलि अगाडि बिजी मलनिर प्रहरीको भ्यान नजिक ८/१० जना घेरिएका थिए । तीमध्ये दुईजना महिला प्रहरीसँग भनाभन गर्दै थिए । प्रहरीले उनीहरुका चियाका थर्मस खोसेर गाडीभित्र राखेका रहेछन् । त्यही माग्न उनीहरु विन्ती गर्दै थिए । तर प्रहरीले फिर्ता दिएन । म त्यहाँ नजिक पुग्नसम्म प्रहरीको भ्यान हुँइकियो । ती दुई महिला स्तब्ध थिए । मैले पनि गएर उनीहरुसँग कुरा गर्न सकिनँ । बस् उनीहरुको पीडाको नमिठो स्वाद लिएर मन भारी बनाउँदै कोठातिर लागेँ । राति अबेरसम्म मैले यही कुरा कल्पेँ र यत्ति भए पनि लेख्नुपर्छ भन्ने अठोट गरेँ ।

मैले लेख्ने अठोट गरेजस्तै, ती ठेलागाडा खोसिएकाहरुले के अठोट गरे होलान् ? चियाको थर्मस खोसिएकाहरुले के अठोट गरे होलान् ? तिनीहरु नै हुन्, जसले पुराना दलबाट आजित भएर महानगरमा नयाँ नेतृत्व खोजेका । आ–आफ्नो ठाउँमा नयाँ नेतृत्व खोजेका ।

हिजाे आफैले जिताएर पठाएका जनप्रतिनिधिका आज यस्ता कार्यशैली देख्दा साँच्चै के अठोट गर्छन् होला उनीहरु ? यसरी दानापानी मागीरहेका भोका पेटमाथि अन्याय र अत्याचार भए के हुन्छ ? फेरि पनि जनगायक जीवन शर्माको गीतमा भनेझैँ हुन्छ : ‘...त्यहाँ फुट्छ ज्वालामुखी !’

 


 

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

2 Comments

  • खगेन्द्र

    July 12, 2022, 6:50 a.m.

    समस्यासँगै उपाय हुने भएकोले धरपकड गर्न छोडी महानगरले दीर्घकालीन मध्यमार्गीको उपाय अपनाउन आबस्यक छ ।

  •  0 Reply
  • अनुजा जोशी

    July 4, 2022, 6:32 p.m.

    मैंले काठमाण्डौ उपत्यकामा स्नातक तह अध्ययन गर्दा पनि छोटो समयका लागि सडकछेउको ठेला साहरा भएको थियो.... देशकै राजधानी भएको जिल्ला स्थित युवा पुस्ताको नेतृत्त्व पाएको काठमाण्डौ महानगरले सवै बर्गका समुदायमा भिजेर सबैलाई सहज हुने कार्य गर्नु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया