देशका २२ जिल्ला पहिरोको उच्च जोखिममा : भल तर्काऔँ, नाली र कुलेसो सफा गरौँ

 असार १९, २०७९ आइतबार १४:२५:५३ | मदन पौड्याल
unn.prixa.net

फाइल फाेटाे

पाँचथरको फालेलुङ गाउँपालिका ७ रातमाटे शुक्रवार राति गएको पहिरोमा परेर ५५ वर्षका रुपलाल मगरको ज्यान गयो । उहाँकी श्रीमती ४५ वर्षकी गोमा र भतिजी १९ वर्षकी एलिसा बेपत्ता हुनुहुन्छ । आइतवार दिउँसोसम्म गोमा र एलिसाको अवस्था थाहा हुन सकेको छैन । सुतिरहेको अवस्थामा रुपलालको घर पहिरोले बगाएको हो । घरभन्दा झन्डै तीन सय मिटर माथिबाट पहिरो आएको थियो । सडक योजनाको मर्मतको काममा ढिलाइ हुँदा पहिरो गएको स्थानीयवासीले गुनासो गरेका छन् । सडक ग्राभेल, नाली, 'ग्याबिन वाल' का लागि खनेर छोडिएको छ । यसरी खनेको ठाउँबाट पानी बग्दा पहिरो गएको अनुमान गरिएको छ ।   

त्यसै रात असार १७ गते परेको पानीका कारण खोटाङको केपिलासगढी गाउँपालिका १ फेदी शुक्रबारेका बुद्धिराज राईको घरमुनिबाट पहिरो खस्यो । बुद्धिराजको घर छेउबाट झरेको पहिरो त्यही तल सडकमा थुप्रिएको छ । पहिरो थुप्रिएको भन्दा तलपट्टी दुजयन्ती राईको घर छ । यो पहिरोले बुद्धिराज र दुजयन्तीसहितका १० वटा घर जोखिममा परेका वडाध्यक्ष निरकुमार राई बताउनुहुन्छ । 

‘घरमा बस्न जोखिम छ, कति बेला पहिरोले घरलाई तान्ने हो पत्तो छैन, डरका कारण बस्न सकिरहेका छैनौँ’, बुद्धिराजले भन्नुभयो, ‘पानी परे पनि डर नपरे पनि डर ।’ जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित ठाउँमा सार्न नसके क्षति हुन सक्ने वडाध्यक्ष राईको भनाइ छ । सडकका कारण पछिल्ला वर्ष पहिरोको जोखिम बढेको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको बुझाइ छ । तर गाउँपालिकाले पहिरो व्यवस्थापनमा प्रभावकारी उपाय निकाल्न सकेको छैन । मनसुनमा हुन सक्ने क्षति न्यूनीकरण तथा पहिरो व्यवस्थापनका लागि प्रभावकारी कदम चालिएको छैन । 

यो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपदका घटना हुन थालेका छन् । जिल्लालाई उच्च र जोखिमयुक्त भनेर वर्गीकरणसमेत गरिएको छ ।  पाँचथर, खोटाङसहित ५३ जिल्ला पहिरोको जोखिममा छन् । तीमध्ये २२ जिल्ला पहिरोको उच्च जोखिममा छन् । 

पहिरोको उच्च जोखिममा रहेका जिल्ला : 

पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी हुन् । खोटाङसहित अरू ३१ जिल्ला पहिरोको जोखिम सूचीमा छन् ।

यसपालिको मनसुनमा औसतदेखि धेरै पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले यसअघि अनुमान गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका बेला हुनसक्ने बाढी/पहिरोसहित सबैखाले विपद्बाट अनुमानित १८ देखि २० लाख जनसङ्ख्या प्रभावित हुनसक्ने आँकलन पनि गरेको छ । सरकारको यो तथ्याङ्कलाई आधार मान्दा यस वर्षको मनसुनमा बाढी/पहिरोका कारण मात्रै पाँच लाख जनाभन्दा धेरैलाई उद्धार वा राहतको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार हिमाल र पहाडका धेरैजसो जिल्लामा पहिरो र तराई/मधेस क्षेत्रमा बाढीको जोखिम छ ।

पहिरोको क्षति घटाउने कसरी ?

सरकारले बाढी/पहिरोको घटनामा उद्धार तथा राहतमा ढिलाइ नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । तर जोखिम क्षेत्रका बासिन्दा आफैँ चनाखो हुन सके क्षति कम हुन सक्छ । बाढी/पहिरोपछि उद्धार र राहतमा सरकारले ध्यान दिएको भए पनि पहिरो वा बाढीबाट हुने क्षति न्यूनीकरणका काम र जनचेतनामा त्यो कमजोरी देखिन्छ । अझ विपद् पूर्वको तयारीका लागि काम गर्ने बलियो संयन्त्रकै अभाव रहेको जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका निमित्त प्रमुख श्रीकमल द्विवेदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘संरचना र संयन्त्रको अभाव भए पनि अहिले बर्खाको बेलामा पहिरो प्रभावित क्षेत्रमा पालिका तह वा स्थानियवासीले सामान्य कुरामा ध्यान दिन सके पनि धेरै क्षति हुनबाट जोगिन र जोगाउन सकिन्छ ।’ भूगर्भ विज्ञसमेत रहनुभएका द्विवेदीका अनुसार बर्खामा भल मात्रै व्यवस्थित गर्न सके पनि पहिरोको जोखिमलाई टार्न सहयोग पुग्छ । आफ्नो घर बस्ती वरपरको जमिन अवस्था हेरेर भल, कुलेसो तथा चिरा परेका ठाउँलाई बेलैमा व्यवस्थित गर्न उहाँको सुझाव छ । 

पहिरो रोकथामका लागि गर्न सकिने केही उपाय : 

-    बर्खामा वा पानी पर्नुअगाडि घर वरपरको भल तर्काउने 
-   नजिकै बाटो तथा सडक छ भने नाली सफा गर्ने 
-  ठूलो पानी परेलगत्तै घर वरपरका कुलेसो पुरिएको हुन सक्छ, त्यसो भए सरसफाइ गर्ने 
-    जमिन चिरा परेको छ÷छैन यकिन गर्ने 
-    जमिन चर्किएको, धाँजा फाटेको ठाउँमा भल पानी पस्न नदिने 
-    भल पानीलाई तर्काएर अन्तै फर्काउने र चिरा परेका ठाउँमा चिम्ट्याइलो माटोले पुर्ने 
-    बसोबास गरेको ठाउँ असुरक्षित छ भन्ने लागेमा तत्काल सुरक्षित ठाउँमा जाने  

अनि बाढी/पहिरोजस्ता प्रकोप परिहालेमा तत्काल पालिका सरकार वा नजिकका सुरक्षा निकायसँग सहयोग माग्न पनि जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका निमित्त प्रमुख द्विवेदीको अनुरोध छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया