झापासहित पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ को सङ्क्रमण, कसरी बच्ने ?

 असार २५, २०७९ शनिबार ६:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापासहितका पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ नामको किराबाट निस्कने कडा एसिडको सङ्क्रमण बढ्न थालेको छ ।

दमक अस्पतालका छालारोग विशेषज्ञ डाक्टर गुरु पौडेलले दैनिक ५० जनाभन्दा धेरै बिरामी ‘नाइरोबी फ्लाइ’ किराको एसिडका कारण सङ्क्रमण भएर उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार ‘नाइरोबी फ्लाइ’ बिटल्स प्रजातिको किरा हो ।

यो वर्षायाममा र पानी धेरै पर्ने ठाउँमा देखिन्छ । यी किरा सुन्तला र कालो रङ्गका हुन्छन् । डाक्टरहरुका अनुसार यो किराले टोक्ने गर्दैन, तर छालामा बसेको बेला माडिएको अवस्थामा कडा खालको एसिड छालाभित्र पस्छ । डाक्टर पौडेलका अनुसार एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ ।

कन्याउँदा दाग र खतसमेत बस्छ । किराबाट निस्कने एसिडको सङ्क्रमणको लक्षण १२ घण्टादेखि २ दिनसम्म देखा पर्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्ने र आफैँ निको भएर जाने डाक्टर पौडेलले बताउनुभयो । किराबाट निस्कने एसिड शरीरमा बढी फैलियो भने ज्वरो आउने, जोर्नी दुख्ने, बान्ता हुने लगायतका समस्या देखिन सक्छ ।

त्यसैले किराले टोकेर शरीरमा बढी एलर्जी देखियो भने अस्पतालमा गएर जाँच गर्न डाक्टर पौडेलले सुझाव दिनुभयो । दमक अस्पतालका छालारोग विशेषज्ञ डाक्टर गुरु पौडेलका अनुसार ‘नाइरोबी फ्लाइ’ नामको किरा उज्यालोमा बढी आकर्षित हुन्छन् । यो किराबाट जोगिनका लागि झ्यालमा जाली लगाउने, ओछ्यानमा झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग गर्ने र राति वरपर भएका बत्ती बन्द गर्नुपर्ने डाक्टर पौडेलको सुझाव छ ।

तस्बिर : विकिपिडिया

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया