किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

 असार २७, २०७९ सोमबार १३:३१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभाको आज साेमवार बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । 

सांसद विमला विश्वकर्माले किसानले मल, बिउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सांसद विष्णु शर्माले सरकारले मङ्सिर–पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताउनुभयो । 

सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बिउ सकिएको र नयाँ बिउ देशभर पुर्‍याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताउनुभयो । सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको बताउनुभयो ।  

सांसद सरलाकुमारी यादवले सरकारले आउँदाे आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताउनुभयो । सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको बताउनुभयो । 

सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियामा कपास विकास समिति विघटन गरेर किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मी परियारले वर्षाको समयमा उदयपुरका धेरै भू–भागलाई कोसी कटानले क्षतविक्षत बनाएकाले जोखिममा परेका नागरिकलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । सांसद लक्ष्मीकुमारी चौधरीले बलात्कारका घटनामा सत्य–तथ्य बुझेर र पीडितले न्याय पाउनुपर्नेमा जोड दिनुभयो । 

सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गका पुल २०६८ सालमा ठेक्का भएकाेमा अझै ५० प्रतिशत नसकिएकाेले निर्माण कम्पनीलाई कारबाहीको माग गर्नुभयो । सांसद लीलादेवी सिटौला (गौतम) ले नेपालमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्ने, केन्द्रमा पाँच/छ मन्त्रालय राख्नुपर्ने र विकासको पुँजी विकेन्द्रीकृत गर्नुपर्ने बताउनुभयो । 

सांसद विद्या भट्टराईले प्राध्यापक र सहप्राध्यापकको अन्तवार्ता एक वर्षसम्म नहुँदा शिक्षामा सुधार नआउने उल्लेख गर्नुभयो । सांसद बीनाकुमारी श्रेष्ठले दक्षिणकाली क्षेत्रमा जथाभाबी उत्खनन हुँदा पहिरोको जोखिम रहेकाले नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । सांसद वृन्दा पाण्डेले काठमाण्डाैलगायतका सहरी क्षेत्रमा फोहर बढिरहेको र अशुद्ध पानीका कारण हैजा फैलिरहेको बताउनुभयो । 

सांसद विशाल भट्टराईले बूढीगङ्गामा पहिले विना कारण चुनाव राेकिएको र अहिले एमालेकै उम्मेदवार विजयी भएको बताउनुभयो । सांसद शक्तिबहादुर बस्नेतले शिक्षामा सरकारकाे लगानी कम भएको र भएको लगानी पनि सदुपयाेग नभएको औँल्याउनुभयो । 

सांसद डा. शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय सभामा सर्वाेच्चमा विचाराधीन मुद्दामा छलफल भइरहेकाले त्यसो हुनु नहुने उल्लेख गर्नुभयो । 

सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोक सङ्कटग्रस्त घोषणा भए पनि सरकारले नागरिकलाई त्यसबाट मुक्त बनाउन नसकेको बताउनुभयो । सांसद सत्य पहाडीले डोल्पाको दुनै पहिराेका कारण जोखिममा रहेको र त्यसको व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उल्लेख गर्नुभयो ।   

सांसद सरवत आरा खानमले सरकारले इदमा बिदा दिएर मुस्लिम धर्मावलम्बीलाई देशप्रति अपनत्वको महसुस गराएको बताउनुभयो । सांसद सीताराम महतोले इटहरी उपमहानगरपालिकामा शिक्षा र स्वास्थ्यमा सुधारको आवश्यकता औँल्याउनुभयो । सांसद हिरा गुरुङले भारत र चीनमा कोभिड सङ्क्रमण बढिरहेकाले सरकारको तयारी अघि बढाउनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया