आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती मनाइँदै

 असार २९, २०७९ बुधबार ८:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा–भाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । आज काठमाण्डाैकाे रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । 

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले नेपाली भाषामा भावानुवादसहितको 'रामायण' लेख्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि घरघरमा पाठ गरिन्छ । 

१८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती–उपदेश दिएपछि उहाँले रामायणलाई नेपालीमा अनुवाद गर्नुभएको बताइन्छ । 'बधुशिक्षा' उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी उहाँका 'प्रश्नोत्तर', 'भक्तमाला', 'रामगीता', फुटकर रचनालगायत कृति छन् । 

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्तको निधन विसं १९२५ साल असोजमा भएको थियो । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया