स्वतन्त्र भनेर राजनीतिमा आउनेहरु स्वतन्त्र हाेइनन् : प्रचण्ड

 असार ३०, २०७९ बिहिबार १४:११:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्ति स्वतन्त्र नभइ देशलाई पछाडि लैजाने तत्वहरु भएका दाबी गर्नुभएकाे छ ।

आज ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उहाँले नेपालमा अहिले स्वतन्त्र र व्यक्तिगत भन्ने व्यक्ति नै नरहेका बताउनु भएकाे हाे । 

अध्यक्ष दाहालले भन्नुभयो, ‘वैज्ञानिक सोच राख्ने इमानदार कम्युनिस्ट अझै एक ठाउँमा हुनैपर्छ । अहिलेको समाज नयाँ बाटोतिर जान नदिने समाज छ । हामीले वैज्ञानिक वहसको नेतृत्व र आन्दोलन गर्न सकेनौँ भने पछि फर्किने तत्व र प्रवृत्ति आउँछन् । विभिन्न नाममा आउँछन्, व्यक्तिगत, स्वतन्त्र भन्छन्, स्वतन्त्र कोही हुँदैन । याे जमानामा र नेपालमा स्वतन्त्र भन्ने मान्छे नै हुँदैन ।’

उहाँले नेपालमा वैज्ञानिक सोच राख्ने इमानदार कम्युनिस्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताउनु भयाे । 

अध्यक्ष दाहालले जनताको अधिकार खोस्ने र सीमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई हराउन आईटी, इन्जिनियरहरु, वैज्ञानिकहरु र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्रा सुरु गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा विज्ञानको प्रयोग सचेत रुपले  हुन नसकेको पनि स्पष्ट पार्नुभयो । 

अध्यक्ष दाहालले विज्ञानमा आधारित भएकै कारण नेपालमा क्रान्ति सफल भएको पनि दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया