कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन आग्रह

 साउन ७, २०७९ शनिबार ७:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भिडभाड हुने ठाउँमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ।

सबै सरकारी, गैरसरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशालामा मास्क अनिवार्य गर्न/गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन भनिएको छ ।

यस्तै सार्वजनिक गाडी, विमानस्थल, हवाई उडानलगायतमा मास्क अनिवार्य प्रयोग गर्न, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रममा मास्क लगाउन पनि आग्रह गरिएको छ । स्वास्थ्य संस्थाले सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न/गराउन, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले निकालेको विज्ञप्तिमा उल्लेख छ । हिजो थप ४ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४१ जना पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया