भरतपुरको विकासका लागि रोकिने छैन, थाक्ने पनि छैन : रेनु दाहाल

 साउन ९, २०७९ सोमबार १३:४५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताउनुभएको छ । 

भरतपुर आँखा अस्पतालले आज साेमवार आयोजना गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ) हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकास द्रूत गतिमा अघि बढेको बताउनुभयो । भरतपुरलाई देशको नमुना र विकासको मोडल खडा गर्ने उद्देश्यसहित लागिपरेकाे उहाँको भनाइ थियो । ‘हामी कहिले पनि थाकेका छैनौँ’, उहाँले भन्नुभयो, ‘निरन्तर गतिका साथ अघि बढेका छौँ । थाक्नेवाला पनि छैनौँ । रोकिनेवाला पनि छैनौँ । विकासका लागि सकेको कोसिस गरिराखेका छौँ । लागिपरेका छौँ ।’

मेयर दाहालले भरतपुर विमानस्थल विस्तार गर्न बनेको कार्यदललाई १५ दिनमा प्राविधिक प्रतिवेदन बुझाउने समयसीमा दिइएको जानकारी दिनुभयो । त्यस्तै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामलाई अगाडि बढाउन कार्यदल बन्दै गरेकाे र कार्यदलले २१ दिनभित्र प्रतिवेदन बुझाउने उहाँको भनाइ छ । यी दुवै कामलाई अगाडि बढाउन मन्त्रिपरिषदबाट निर्णय गर्ने गरी काम अघि बढेको मेयर दाहालले उल्लेख गर्नुभयो ।

भरतपुरबाट अबको केही समयमा विषेशज्ञसहितको स्वास्थ्य सेवा लिन स्वदेशबाट मात्रै नभइ छिमेकी देशबाट पनि बिरामी आउने सम्भावना बढेको उहाँको धारणा थियो । ‘भरतपुरमा दुई ठूला मेडिकल कलेज, भरतपुर केन्द्रीय अस्पताल, दक्षिण एसियामा सेवा दिने क्यान्सर अस्पताल र ठूला निजी अस्पतालहरू रहेका छन्, अब केन्द्रीय शिक्षक अस्पताल, आयुर्वेद अस्पताल र प्राकृतिक चिकित्सालय निर्माण भएपछि सबै सेवा भरतपुरबाट पाइन्छ’, मेयर दाहालले भन्नुभयो ।

भरतपुर आँखा अस्पतालले विशेषज्ञ र गुणस्तरीय सेवा प्रवाह गरी प्राप्त गरको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेसँगै थप चुनौती र जिम्मेवारी थपिएकाे उहाँको भनाइ थियो । भरतपुर आँखा अस्पतालले यो गुणस्तर चिह्न प्राप्त गरेर भरतपुर महानगरपालिकालाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका र भरतपुर आँखा अस्पतालबीच राम्रो सहकार्यको  नमुना प्रस्तुत भइरहेको भन्दै मेयर दाहालले आँखा अस्पतालको गुणस्तर विकासमा महानगर सहयात्री बन्ने बताउनुभयो ।

कार्यक्रममा युनाइटेड रजिस्ट्रार्ड (यूआर) का कन्ट्री डाइरेक्टर प्रकाश पौडेलले नेपाल नेत्रज्योति सङ्घ र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया