भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोलिएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको आयोजनाको बेस क्याम्पमा भएको औपचारिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'भर्चुअल' माध्यमबाट सम्बोधन गरेपछि सुरुङ छिचोलिएको हो ।
सुरुङ औपचारिक रूपमा छिचोल्नका लागि १ मिटर ८ सय सेन्टिमिटर भाग बाँकी राखेकोमा प्रधानमन्त्रीको सम्बोधनलगत्तै प्राविधिकले विष्फोट गराएर छिचोलेका हुन् ।
२०८० साल माघ ४ गतेदेखि खन्न थालेको सुरुङ एक वर्षमै छिचोलिएको हो । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धबाबा मन्दिरदेखि बुटवल पावर हाउससम्म १ हजार १ सय २६ मिटर लामो सुरुङमार्ग निर्माण भइरहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरुङमार्गले सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सहज हुने मात्र नभई पहाडी जिल्लाको उत्पादनलाई बुटवलसम्म ल्याउन सहज पुग्ने बताउनुभयो ।
सुरुङमार्गमा कुनै समस्या आइपरे आपत्कालीन निकासका लागि ३ वटा बाइपास सुरुङ राखिएको छ । १ सय ५१ मिटर, १ सय ६१ मिटर र १ सय ३० मिटर गरी ३ वटै बाइपास सुरुङ पनि यसअघि नै छिचोलिएका छन् ।
२०७८ साल फागुनमा ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाइएको सुरुङमार्गको निर्माण कार्य ४०.१८ प्रतिशत पूरा भएको छ । पछिल्लो समय मृत्युमार्गका रूपमा परिभाषित हुँदै गएको बुटवल–पाल्पा खण्डमा भएका दुर्घटना रोक्न यो सुरुङ महत्त्वपूर्ण हुने विश्वास छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ । यो खण्डको झन्डै ४ किलोमिटर सडक बर्खा र हिउँद सधैं पहिरोको उच्च जोखिममा पर्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।