६० म्यानपावरले पठाउन सकेनन् एक जना पनि कामदार, तर पनि जोगिए खारेजीबाट

 साउन ९, २०७९ सोमबार १४:४८:१९ | बेदानन्द जाेशी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका आठ सय ७२ म्यानपावर कम्पनीमध्ये ६० म्यानपावरले गएको आर्थिक वर्ष २०७८/७९ मा एक जनालाई पनि वैदेशिक रोजगारीमा पठाउन सकेनन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार तीन वटा म्यानपावर कम्पनीले एक/एक जना मात्र श्रमिक पठाएका छन् भने तीन ओटा म्यानपावरले दुई/दुई जना मात्रै श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन् । 

वैदेशिक रोजगार नियमावली (पाँचौ संसोधन)२०७६ मा म्यानपावर नवीकरणको लागि पछिल्ला दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको हुनुपर्ने व्यवस्था छ । तर नियमावलीको त्यो व्यवस्था अहिलेसम्म लागू नै हुन पाएको छैन । नियमावलीको पाँचौ संसोधन लागू हुन नपाउँदै कोरोना महामारी सुरु भयो । कोरोना महामारीको कारण देखाएर दुई वर्ष पहिले मन्त्री परिषदको बैठकले वर्षमा एक सय श्रमिक पनि पठाउन नसक्ने म्यानपावरको नवीकरण गर्ने निर्णय गरेको थियो । त्यो निर्णय श्रम गन्तव्य देशमा कोरोनाका कारण रोजगारी बन्द भएसम्मको लागि थियो ।

पछिल्लो वर्ष कोरोनाको असर घटेसँगै रोजगारी खुलिसकेको छ । सबै श्रम गन्तव्य देशबाट कोरोनापूर्वकै अवस्थामा माग आउन र श्रमिक जान थालिसकेका छन् । लामो समयसम्म बन्द रहेको मलेसियाको रोजगारी पनि खुलिसकेको छ । वैदेशिक रोजगारीको अवस्था सामान्य भएसँगै पुरानै निर्णय लागू हुन्छ कि भनेर एक सय भन्दा बढी श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनी डराएका थिए । तर गएको असार ३१ गतेको मन्त्रीस्तरीय बैठकले फेरि पुरानै निर्णयलाई दोहोर्‍यायो । असार ३१ गते राजपत्रमा सूचना नै जारी गरेर एक सय जना वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावरको इजाजतपत्र आर्थिक वर्ष २०७९/८० को लागि नवीकरण गर्न दिने निर्णय गरेको छ । वैदेशिक रोजागर ऐन २०६४ को दफा ८२ ले दिएको अधिकार बाधा अड्काउ फुकाउने आदेश जारी गरेको राजपत्रमा उल्लेख छ ।

मन्त्रीस्तरीय यो निर्णयले गर्दा साढे दुई सय जति म्यानपावर कम्पनी खारेज हुनबाट जोगिएका वैदेशिक रोजगार विभागका प्रवक्ता कृष्णकुमार भुसाल बताउनुहुन्छ । 

‘अझै पनि साढे दुई सय जति म्यानपावरले वर्षमा एक सय जति पनि श्रमिक पठाउन सकेका छैनन्, नियमावलीअनुसार उनीहरु नवीकरण हुन पाउँदैनथे’, भूसालले भन्नुभयो, ‘तर मन्त्रीस्तरीय निर्णयले जोगाइदिएको छ । कोरोना महामारीले पारेको असरले व्यवसाय सञ्चालनमा गाह्रो परेको भनेर यस्तो निर्णय गरेको हुनसक्छ ।’

यो निर्णयले एक सय जना मात्र होइन एक जना श्रमिक पनि पठाउन नसक्ने म्यानपावर कम्पनीलाई पनि राहत मिलेको उहाँको भनाइ छ । एक जना श्रमिक पनि पठाउन नसक्ने म्यानपावरको संख्या ६० छ । कतिपय म्यानपावरले मलेसियामा मात्रै श्रमिक पठाउने गरेको र लामो समयसम्म त्यहाँको रोजगारी बन्द रहेकाले पनि त्यसको असर यी म्यानपावरमा परेको छ । 

म्यानपावर कम्पनी सञ्चालन गर्न वैदेशिक रोजगार विभागमा धरौटी रकम जम्मा गर्नुपर्छ । यस्तै बैंक ग्यारेण्टी पनि राख्नुपर्छ । श्रमिक पठाउन नसक्ने म्यानपावरलाई आफू टिकिराख्न समस्या हुन्छ । त्यसैले उनीहरु नवीकरण गर्न नचाहने र खारेजीको प्रक्रियामा जाने गरको उहाँको भनाइ छ ।

‘गएको वर्ष १२/१३ म्यानपावर कम्पनी खारेज भएका छन्, पछिल्लो समय यो क्रम बढेको हो कि जस्तो देखिन्छ’, उहाँले भन्नुभयो, ‘श्रमिक पठाउन नसक्दा लगायत विभिन्न कारणले खारेजीमा जान चाहन्छन् ।खारेजीपछि जम्मा गरेको रकम फुकुवा हुन्छ । त्यसले अन्तै लगानी गर्छन् ।’

यति पठाउनैपर्ने भनेर तोक्नु गलत : संघ

म्यानपावर कम्पनीले न्यूनतम यति श्रमिक पठाउनुपर्छ भनेर तोक्नु गलत भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भनाइ छ । संघका अध्यक्ष बिमल ढकाल यस व्यवस्थाबारे टिप्पणी गर्दै भन्नुहुन्छ, ‘पसलेलाई यति सामान बेचे मात्र पसल चलाउन पाइने नत्र बन्द गर्नुपर्ने भनेर हुन्छ ? अहिले म्यानपावरको विषयमा हाम्रो सरकारको व्यवस्था त्यस्तै छ ।’

यसको असर समग्र वैदेशिक रोजगारीको क्षेत्रमा परेको उहाँको भनाइ छ । न्यूनतम यति श्रमिक पठाउनुपर्ने भन्ने व्यवस्थाले म्यानपावरमा गलत प्रतिस्पर्धा पनि चल्न थालेको छ । आफ्नो कम्पनीको इजाजतपत्र जोगाउन म्यानपावर व्यवसायीहरुले मागपत्र किनबेच गर्ने आरोप लाग्ने गरेको छ । पैसा दिएर माग किनेपछि म्यानपावरले कामदारबाट त्यो रकम असुल्छन्। अध्यक्ष ढकाल यो आरोपलाई स्वीकार्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘हो सरकारको यो नियमले बजारमा गलत प्रतिस्पर्धा भएको सुनिन्छ, यसको मार श्रमिकलाई नै पर्ने हो । त्यसैले हामीले यो नियम हटाइनुपर्छ भनेका छौँ, छलफल भइहरेको छ ।’

प्याराडाइजले पठायो सबैभन्दा धेरै श्रमिक

६० म्यानपावरले एक जना श्रमिक पनि पठाउन नसकेको अवस्थामा प्याराडाइज इन्टरनेशनल प्रालीले ६ हजार ५५ जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको छ । यस्तै एसओएस म्यानपावरले ५ हजार ७२४, अक्सफोर्ड इन्टरनेशनलले ४ हजार १८८ र लिंक इन्टरनेशनल प्लेसम्यान सर्भिसले ३ हजार ६७२ श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको विभागको तथ्यांक छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया