शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

 साउन १७, २०७९ मंगलबार १७:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभाको आज मङ्गलवारको बैठले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त 'शपथसम्बन्धी विधेयक २०७९ मा विचार गरियोस्' भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको यस प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा. भीमबहादुर रावल, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, छक्कबहादुर लामा, गजेन्द्र महत, खेमप्रसाद लोहनीले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री बडूले सार्वजनिक पद धारणा गरेका व्यक्तिको शपथमा कानुनी शून्यता हुन नदिन शपथसम्बन्धी छुट्टै कानुन आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो । छलफलमा सांसदहरूले विधेयक चाँडो पारित गर्न र विधेयकलाई समृद्ध बनाउन दिएका सुझावप्रति उहाँले आभार प्रकट गर्नुभयो । उद्योगमन्त्री बडूले शपथको भाषा र व्यहोरा आदिबारे विधेयकले स्पष्ट व्यवस्था गरेकाले यसलाई छिटो पारित गर्ने प्रक्रियामा सहयोग गर्न अनुरोध गर्नुभयो । राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश संसद्का सदस्य, प्रदेश प्रमुखलगायतले आफ्नो जिम्मेवारी सम्हाल्नुअघि संविधानअनुरूप पद तथा गोपनीयताको शपथ लिनुपर्ने विधेयकमा व्यवस्था छ ।

त्यसैगरी बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त स्ट्यान्डर्ड नाप र तौल (पाँचाैँ संशोधन) विधेयक २०७८ मा विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ । उद्योगमन्त्री बडूले प्रस्तुत गर्नुभएको याे प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भइरहेको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया