नारायणगढ–मुग्लिन सडक : पहिरो रोक्न ४० करोड रुपैयाँ खर्च तर जाेखिम उस्तै

 साउन १८, २०७९ बुधबार १९:५४:४६ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल तस्बिर

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा भएको छ । सङ्घीय राजधानी काठमाण्डाैलाई देशका मुख्य भू–भागसँग जोड्ने सडक खण्डको स्तरोन्नति भए पनि पहिरोको जोखिम बढ्दै गएको छ । 

एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएको नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएकै समयदेखि पहिरोको सकसमा छ । हरेक वर्षको बर्खाकाे समयमा पहिरोका कारण याे सडकमा समस्या हुने गरेको छ । बर्खा हिलाे र सुक्खामा पहिराेकाे समस्या छ ।  

नारायणगढ–मुग्लिन सडकमा अहिले नयाँ–नयाँ ठाउँमा पहिरो झर्ने गरेको छ । एक ठाउँमा पहिरो हटायो अर्को ठाउँमा झरिसकेको देखिन्छ । केही दिनयता ठाउँ–ठाउँमा पहिरो जाँदा त्यही सडक खण्डमा लामो समय गाडीहरू रोकिनु परेको छ भने यात्रा जोखिमपूर्ण बनेको छ ।

यस खण्डको सडकमार्ग सुधार गरिएको भए पनि पहिरो रोकथामको व्यवस्थापन हुन नसक्दा यो समस्या कहिलेसम्म भन्ने प्रश्न उठेकाे छ । पछिल्लाे तीन वर्षमा याे सडक खण्डमा पहिरो राेक्न करोडौँ रुपैयाँ खर्च गरेर काम पनि भएकाे छ । तर पहिरोको समस्या जस्ताको त्यस्तै छ । 

काठमाण्डाै प्रवेश गर्ने र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी गाडी आउजाउ हुने गरेकाे छ । सडक पुनर्निर्माणकाे काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा जोखिम कायमै छ ।

१७ ठाउँमा पहिरोको उच्च जोखिम

नारायणगढ–मुग्लिन सडक खण्डमा १७ ठाउँमा पहिरोको जोखिम छ । तीमध्ये सात ठाउँ उच्च जोखिममा रहेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । खनालका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।

नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको र पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको देखिन्छ । सेती दोभान, कालीखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेको छ । यी १७ ठाउँमा गएकाे वर्ष पहिरो खसेका थिए ।

नारायणगढ–मुग्लिन सडक खण्डमा बर्खामा मात्र हाेइन हिउँदमा पनि पहिरोको जोखिम रहेको छ । कतिपय ठाउँमा सुक्खा पहिरोसमेत खसेर दुःख दिएको छ । सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुँदा समस्या भएको देखिन्छ । मुख्य रूपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ । सडक खण्डमा निर्माण गरिँदै रहेको १९ वटा पुलमध्ये चार वटाको कम पूरा भएर हस्तान्तरण भइसकेको छ । बाँकी पुल निर्माणको अन्तिम चरणमा रहेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड स्तरोन्नति भइ २०७५ साउन ४ गते डिभिजन सडक कार्यालय भरतपुरलाई हस्तान्तरण भएको हो । त्यसयताको दुर्घटनाको तथ्याङ्क हेर्दा सञ्चालनमा आएको अघिल्लो वर्षभन्दा स्तरोन्नति भएर सञ्चालन भएको वर्ष बढेको देखिन्छ । आव २०७४/७५ मा ५१ वटा दुर्घटना भएकोमा आव २०७५/७६ मा ५५ वटा दुर्घटना भएकाे छ । ती दुर्घटनामा मृतक भने दुवै वर्ष २८ रहेका छन् । त्यसपछिका हरेक वर्ष दुर्घटना बढ्दो छ ।

पहिरो रोक्न ४० करोड रुपैयाँ खर्च

नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तार गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भइ दुई अर्ब ९० करोड रुपैयाँ खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । 

पहिरो रोक्ने कामका लागि मात्र ४० करोड रुपैयाँ खर्च भएको छ । सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो । त्यही क्रममा ३१ ठाउँमा पहिरो नियन्त्रणका काम गरिएको थियो । धेरैजसाे ठाउँमा भित्तो काटिएको थियो । जसमध्ये सात ठाउँमा महत्त्वका साथ पहिरो रोक्ने काम गरिएको थियो ।

बायो इन्जिनियरिङ गर्ने, जाली लगाएर चट्टानलाई रोक्ने, भित्तामा पर्खाल लगाउने, खस्न लागेका ढिस्का झार्ने, भिरालो भागमा जालीले भूस्खलन रोक्ने, पहाडमाथिका जोखिमयुक्त बस्ती हटाउनेलगायतका काम भएकाे थियाे ।  

आयोजनाले विभिन्न २८ ठाउँमा पहिरो राेक्ने काम गरेको थियो । पहिरो राेक्नका लागि जुट नेटिङ, रक बोल्टिङ, रक नेटिङ, बायो इन्जिनियरिङ, रिटेनिङ वाल, ब्रेस्ट वाल लगायतका प्रविधि अपनाइएको थियो । सडक खण्डको ४० प्रतिशत क्षेत्रमा पहिरोमा ब्रेस्ट वाल (भित्तातर्फको पर्खाल) लगाइएको थियो भने र भू–सतह हेरेर झन्डै ९० प्रतिशतभन्दा बढी क्षेत्रमा सुरक्षाका उपाय अपनाइएको इन्जिनियर खनालले बताउनुभयो । 

डिभिजन सडक कार्यालयका अनुसार पहिरो पन्छाउन हरेक वर्ष कम्तीमा १३ लाख रुपैयाँ खर्च हुने गरेको तथ्याङ्क छ । अहिले याे सडकमा पहिरो पन्छाउनका लागि एक्स्काभेटर सहितको प्राविधिक टोली २४ सैँ घण्टा सडकमा नै बस्ने गरेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो राेक्न नसक्नुमा कमजोर भू–सतह, सडकको ट्र्याक खोल्दा गराइएको विस्फोटको असर, भूकम्पीय जोखिमको क्षेत्र र विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) मा कमजोरी रहेको विज्ञहरू बताउँछन् । 

महाभारत पर्वत शृङ्खलाअन्तर्गतको तल्लो भागमा पर्ने यस क्षेत्रका पहाडहरू माथिल्लो भागमा रहेका चट्टानी पहाडजस्ता बलिया छैनन् । कमजोर र खुकुलो प्रकृतिको भू–सतह भएका पहाड तथा स्थान चलायमान हुने भएका कारण पहिरोको जोखिम कायम छ ।

विष्फोट गराउँदा भू–बनोट खुकुलो हुने, चर्किने, भित्र–भित्रसम्म छिद्रहरू बन्ने र समग्र पहाड नै कमजोर बन्ने हुन्छ । चीन सरकारले ट्र्याक खोल्ने क्रममा धेरै ठाउँमा विष्फोट गराएकाे हुनाले त्यसको असर आजसम्म पनि देखिएको हुन सक्ने विज्ञहरू बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया