समुदाय र विद्यालयबीच दूरी कसरी घटाउने ?

 साउन १९, २०७९ बिहिबार १०:४१:१६ | डिल्लीराम पाण्डेय (रामु)
unn.prixa.net

साङ्केतिक तस्बिर

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएपछि विद्यालय तथा क्याम्पसले कक्षा ११ मा भर्ना खुलाएका छन् ।

विद्यार्थी तथा अभिभावक सकेसम्म राम्रो विद्यालय र विषयको खोजीमा हुनुहुन्छ । अहिले चर्चा एसईईको भए पनि शिक्षण सिकाइ र गुणस्तर तल्लो तहबाटै जोडिन्छ ।

समुदाय र विद्यालयको निकटता भएका विद्यालयहरु गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल पनि भएका छन् । तर अहिले धेरैजसो समुदाय र विद्यालयबीचको दूरी बढेको हो कि भन्ने देखिन्छ ।

सामुदायिक विद्यालयमा समुदाय र अभिभावकको चासो किन घटिरहेको छ ?

समुदायद्वारा व्यवस्थित विद्यालयको भ्रमणको क्रममा अहिले विद्यालयबाट धेरै सुनिने गरेको अभिभावक र समुदायको विद्यालयप्रतिको चासो घटेको विषय छ । वर्षदिनमा अभिभावकहरु तीन/चार पटक पनि विद्यालयमा पुग्दैनन् । त्यसका पछाडिको कारण के होला ? यसबारेमा हामीले गुल्मी र सिन्धुपाल्चोकका केही विद्यालय र तिनका अभिभावकहरुसँग गरिएको कुराकानीका क्रममा सङ्कलन गरिएका केही बुँदाहरु यसप्रकार छन् ।

१. हुनेखानेका छोराछोरी सरकारी विद्यालयमा नहुनु

अहिले गाउँदेखि सहरसम्म निजी विद्यालयमा छोराछोरी पठाउँदा गर्व गर्ने समय चलिरहेको छ । देशैभरि औँलामा गन्न सकिने राम्रा सरकारी विद्यालयमा आफ्ना छोराछोरी पठाएका अभिभावकले मात्र गर्व गर्न सक्ने अवस्था छ । विद्यालयलाई समाजका सबै किसिमका व्यक्ति तथा वर्गको आवश्यकता पर्छ । अभिभावकले आफ्नो नजिकको विद्यालयलाई मुख्य प्राथमिकता दिनुपर्ने बनाउन सक्नु नै अहिलेको आवश्यकता हो ।

२. हुँदा खानेहरु विद्यालय समयमा आउन नसक्नु र सचेतनाको अभाव

यो वर्गमा अवस्था फरक छ । छोराछोरी कुन विद्यालयमा पढिरहेका छन् भन्यो भने अन्यत्र पढाउन सकिएन, यहाँकै सरकारी विद्यालयमा जान्छन् भन्ने उत्तर पाइन्छ । जसका छोराछोरी विद्यालयमा छैनन् उनीहरु विद्यालय किन जाने भनेर प्रश्न गर्छन् । यस्तै अर्काथरी अभिभावक जसले विद्यालयमा छोराछोरी पठाउँछन् तर आफ्नो दैनिक हातमुख जोर्ने समस्या भएकोले उनीहरुका बालबालिका विद्यालय समयमा विद्यालयमा आउन सक्दैनन् । र अब यस्तै अर्काथरी अभिभावक छन् जो विद्यालयका हरेक गतिविधिप्रति बेवास्ता मात्र गरिरहन्छन् । उनीहरुमा सामाजिक उत्तरदायित्वको बोध र डर पटक्कै हुँदैन ।

३. आफ्ना छोराछोरी विद्यालयमा नहुनु

केही अभिभावक जो आफ्ना बालबालिका विद्यालयमा हुन्जेल सबै क्रियाकलापमा सहभागी हुने तर आफ्ना बालबालिका विद्यालयबाट निस्किएपछि त्यो विद्यालयप्रति बेवास्ता गर्ने प्रचलन बढिरहेको छ । 

४. स्वकेन्द्रित बन्दै जानु

अहिले मानिसहरु सामाजिक संस्था र क्रियाकलापप्रति भन्दा आत्मकेन्द्रित र स्वकेन्द्रित बन्दै गइरहेको पाइन्छ । यसले पनि समुदाय र विद्यालयबीच दूरी बढाएको छ ।

५. बोलिएका कुरा र कतिपय निर्णय नै कार्यान्वयन नहुने

विद्यालयमा जिम्मेवार भनिएका व्यक्तिले, व्यवस्थापन समितिले आफूले बोलेका र निर्णय गरेका कुराहरुलाई कार्यान्वयन गर्न वास्ता नगर्दा पनि समस्या छ ।

६. विद्यालयमा राजनीतिकरण  

कतिपय शिक्षकले दलीय राजनीति गर्नु र शिक्षण सिकाइप्रति जिम्मेवार नबन्नु, ती शिक्षकलाई दलगत संरक्षण हुनु । विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घको गठनमा राजनीतिक गुटबन्धी हुनु, राजनीतिक आस्थाका आधारमा शिक्षकको नियुक्ति तथा सरुवा हुनु र यस्ता क्रियाकलापमा रुचि नराख्ने व्यक्तिहरु अवसरबाट वञ्चित हुनु ।

७. सम्मान चाहने र दिन नसक्ने वातावरण

कतिपय विद्यालयमा विद्यालय स्थापनाकालदेखि नै योगदान गरेका व्यक्तिहरु हुन्छन् र उनीहरुको स्वभाव सधैँ सम्मान खोजिरहने हुन्छ तर विद्यालयमा नेतृत्व परिवर्तन भइरहँदा त्यस्तो वातावरण नबन्न पनि सक्छ । यसले पनि विद्यालय र समुदायबीच खाडल बढ्दो देखिन्छ ।

८. वैयक्तिक रिसिबी

सामुदायिक विद्यालयमा समुदायका व्यक्तिहरु नेतृत्व तहमा पुग्छन् तर त्यही समुदायका केही व्यक्तिहरु ती नेतृत्वसँग वैयक्तिक रिसिबीका कारण राम्रा कामलाई समेत राम्रो भन्न चाहँदैनन् । 

९. जागिरे अभिभावक र वैदेशिक रोजगारमा गएका  

आफ्नो जागिरको कारणले पनि अभिभावकहरु विद्यालयप्रति समय दिन सकिरहेको अवस्था छैन । अर्काथरी अभिभावक गाउँमा बस्दा चासो दिने तर विदेश गएपछि वास्ता नगर्ने प्रकारका पनि छन् ।

१०. पद लोलुपता  

कतिपय अभिभावक वा समुदायका व्यक्तिहरु विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घ/सङ्गठनमा रहेर काम गर्न खोज्ने तर पद नपाएपछि वास्ता नगर्ने प्रकारका र कतिपय पद लिने तर सहरतिर बस्ने खालका पनि छन् ।

११. आर्थिक लाभको खोजी  

हरेक ग्रामीण क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाले बैठक भत्ता दिने तथा सामान्य किसिमका समुदायले गर्न सक्ने कामको लागि पनि पैसा दिने चलनले पैसा पाउनेहरु पैसा नपाउने काममा नजाने र पैसा नपाएकाहरु पैसा पाउने  काममा हामीलाई खोजिँदैन नपाउनेमा किन जानु भन्ने प्रवृत्ति बढ्दो छ ।

के गर्न सकिन्छ त अभिभावक र समुदायको सक्रियता बढाउन ?

*   विद्यालयले निरन्तर सम्पर्क बढाउने र बेला बेलामा अभिभावकलाई मन पर्ने कार्यक्रमको आयोजना गरी विद्यालयमा अभिभावकको चासो बढाउन सकिन्छ । 

*   सम्मानित वातावरण खोज्ने र विद्यालयप्रति योगदान गरेका अभिभावकलाई अभिभावक सम्मान कार्यक्रम आयोजना गरी निरन्तर विद्यालयप्रति जिम्मेवार बनाउन सकिन्छ ।

*   छोराछोरीले पढाइ सकिसकेका अभिभावकलाई बाबा/आमा नभएका वा आफ्ना विद्यार्थीको अभिभावकत्व वहन गर्न कठिन भएका विद्यार्थीको अभिभावक बनाइदिने ।

*   चन्दादाता तथा अक्षयकोष स्थापना गर्ने व्यक्तिलाई सम्भव भएसम्म एक विद्यार्थीको अभिभावकत्व दिने ।

*   प्रत्येक दिन कम्तीमा एक जना अभिभावकले विद्यालयमा भेटघाट गरी छलफल र गुनासा राख्न सक्ने वातावरण मिलाउने ।

*   क्षमतावान अभिभावक जो शिक्षण पेसाबाटै सेवानिवृत्त हुनुभएको छ, उहाँहरुलाई कक्षा लिन लगाउने (प्रार्थना समय या कक्षा समयमा हुनसक्छ ।)

*   भूतपूर्व विद्यार्थीकाे समूह तयार गर्ने, आमा समूह, युवा क्लबलाई विद्यालयमा बोलाएर विद्यालयका समस्याबारे अवगत गराउने ।

*   अभिभावकका राम्रा योजनालाई विद्यालयमा समावेश गर्ने ।

*   समुदायका समस्यामा विद्यालयले अग्रसरता देखाउने ।

*   विभिन्न दिवस तथा कार्यक्रम विद्यालय र समुदायले मिलेर मनाउने ।

*   शिक्षक, व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले  समय समयमा नमुना विद्यालयमा पनि भ्रमण गर्ने ।

*   सकारात्मक चिन्तनको विकासका लागि योग तथा ध्यान प्रशिक्षण सञ्चालन गर्ने ।

*   अभिभावकसँगको सचेतनामूलक कार्यलाई तीव्रता दिने ।

*   स्थानीयकला संस्कृति, सिप, पेसा, व्यवसायलाई विद्यालयमा सिकाउने वातावरण तयार गर्ने ।

*   पढाइसँगै सिपमूलक कार्यक्रम र तीनको कार्यान्वयनमा जोड दिने ।

(पाण्डेय जस्ट नेपाल फाउन्डेशनमा हाम्रो समुदाय हाम्रो विद्यालय कार्यक्रममा अभिभावक सचेतीकरण तथा परिचालनमा कार्यरत हुनुहुन्छ ।)

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया