पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति क्षेत्रको निरीक्षण : संरक्षण र सरसफाइमा ध्यान दिन निर्देशन

 साउन २१, २०७९ शनिबार १०:९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न ठाउँमा पुगेर निरीक्षण तथा व्यवस्थापन पक्षबारे जानकारी लिनुभएको हो ।

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा, विश्वरुपा मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूपा, सत्तललगायतको अवलोकन गर्नुभएको हो ।

अवलोकन तथा निरीक्षणपछि उहाँले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको छ । उहाँले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवम् पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन समेत निर्देशन दिनुभयो ।

मृगस्थली क्षेत्रमा लिच्छविकालीन विश्वरूपा मन्दिर पुनर्निर्माणको अवस्था र घाट व्यवस्थापनबारे पनि जानकारी लिएर उहाँले पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको वृहत्तर सुधार कार्यक्रम तथा पुनर्निर्माणकाे कार्य भइरहेको कोषका सदस्यसचिव डा. मिलन कुमार थापाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया