काठमाण्डाै उपत्यकामा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सुरु

 साउन २२, २०७९ आइतबार १०:५६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै  - काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आज एक कार्यक्रम आयोजना गरेर पुनः काठमाण्डाै उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाइएको हो ।

काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाण्डाै महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो ।

ट्राफिक स्वयम्सेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नो हर्न अभियानलाई काठमाण्डाैमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उहाँले नो हर्न अभियान पहिलेदेखि सञ्चालन गरिए पनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताउनु भयो । मेयर शाहले गाडीबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाउन लागेको बताउनु भयो । उहाँले गाडी चालकहरुले पनि धैर्यता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनु भयो । 

मेयर शाहले भन्नुभयो, ‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान सुरु गरेका हौँ । जनचेतना फैलाउन आवश्यक पनि भएको छ । गाडीहरुबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक समस्या पैदा गरेको छ । यसले इरिटेशन एकदमै धेरै बढाइरहेको पाइएको छ । ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ । व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको थियो । बाटोमा गाडी गुडाउँदा चालकले धैर्य राख्नुपर्छ ।’

कार्यक्रममा काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताउनु भयो ।

काठमाण्डाै महानगरपालिकाले २०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया