दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिव पक्राउ

 साउन २५, २०७९ बुधबार १९:४:२४ | दीपक भट्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रामेछाप – दोहोरो नागरिकताको सिफारिस दिने उमाकुण्ड गाउँपालिका ४ प्रितीकी वडा सचिव पदमकुमारी बस्नेतलाई आज बुधवार प्रहरीले पक्राउ गरेको छ । वडा सचिवले बस्नेतले आफ्नै गाउँकी नाता पर्ने प्रितीकी निर्मला बस्नेतलाई नाम परिवर्तन गरी फेरि दोस्राे पटक नागरिकता बनाउन वडाबाट सिफारिस दिनुभएकाे थियाे । निर्मलाले यसअघि नै जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता लिइ सक्नुभएकाे थियाे । 

बस्नेतले आफ्नै बहिनीको विद्यालयकाे प्रमाणपत्रकाे आधारमा वडाबाट सिफारिस लिएर दोहोरो नागरिकता लिन जिल्ला प्रशासन कार्यालय रामेछापमा कागजात पेस गर्नुभएकाे थियाे । बस्नेतले पेस गरेको कागजातको आधारमा कार्यालयमा भएको रेकर्ड भिडाउँदा यसअघि नै नागरिकता लिइसकेको देखेपछि शङ्का गरी सोधपुछ गर्दा दोहोरो नागरिकता लिन खोजेको देखिएपछि प्रशासनले कागजात नियन्त्रणमा लिएको थियो ।

त्यसपछि प्रशासनले बस्नेतको नागरिकताका लागि सिफारिस गर्ने वडा सचिव पदमकुमारी बस्नेतलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयाे ।  

दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ । अनुसन्धानपछि सिफारिसको विषयमा थप विवरण आउन सक्ने र साथै अन्य व्यक्ति पनि यसमा संलग्न भए/नभएको यकिन हुने उपरीक्षक थिङले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया