निहारिका राजपुतद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास, प्रहरीले जाेगाएर अस्पताल पुर्‍यायाे

 साउन २७, २०७९ शुक्रबार १६:३८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोकेर अस्पताल लगेको छ ।

अनशनमा बसेको व्यक्ति राष्ट्रपति भवन शीतल निवास अगाडि निषेधित क्षेत्रमा पुगेपछि रोकेर उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिनुभयो । शीतल निवास अगाडि पुगेकी निहारिकाले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाउन खोज्दा प्रहरीले रोकेर पक्राउ गरेको थियो । प्रवक्ता मैनालीले भने पक्राउ गरेको नभइ निषेधित क्षेत्र तोड्न खोज्ने व्यक्तिलाई रोकेर अस्पताल लगेको बताउनुभयो ।

निहारिकाले गएको २० गतेदेखि आमरण अनशन सुरु गर्नुभएको हो । वसन्तपुर डबलीमा अनशन बसिरहेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको प्रयास गरेको बताउनुभएको उहाँका सहयोगीहरूले बताएका छन् ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उहाँले बच्चाको डीएनए टेस्ट म्याच गराउन र आरोपितलाई पक्राउ गर्न माग राख्नुभएको छ । यसअघि आरोपितलाई जिल्ला अदालत धनुषाले उनीहरूबीच सहमतिमै सम्बन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गर्नुभएकोमा त्याे मुद्दाको पेसी सरेको सर्‍यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गर्नुभएको छ ।

यसअघि गएको जेठमा पनि निहारिका आमरण अनशन बस्नुभएकोमा सरकारी पक्षसँग पाँच बुँदे सहमति पछि अनशन तोड्नुभएको थियो । तर आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया