आफ्नी बहिनीसँग प्रेम गरेको शङ्कामा २ जनाले युवकको हत्या गरे, शव भारतको रक्सौलमा भेटियो

 साउन २९, २०७९ आइतबार १४:३१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बाराको विश्रामपुरका राजकुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ठाकुरको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका नगवामा टेलर सञ्चालन गर्दै आएका बाराको विश्रामपुरका उत्तम पटेल र उनका दाइ प्रितम पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले राजकुमारले आफ्नी बहिनीसँग प्रेम गरेको शङ्काका आधारमा हत्या गरेको बयान दिएका पर्सा प्रहरीले जनाएको छ ।

गएको मङ्गलवार २३ वर्षका राजकुमार ठाकुर ट्युसन पढ्न साइकल चढेर वीरगञ्ज गएकोमा नफर्किएपछि उहाँका बुबाले प्रहरीलाई खबर गर्नुभएको थियो । अनुसन्धानका क्रममा वीरगञ्जमा टेलर सञ्चालन गरी बस्दै आएका बाराको विश्रामपुरका दाजुभाई उत्तम र प्रितमलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनीहरूले राजकुमार ठाकुर र आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा ठाकुरलाई आफ्नै टेलरमा लगी हत्या गरेर उनको शव बोरामा राखी भारतको रक्सौल रेल स्टेशन छेउमा फालेर आएको बयान दिएका प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीको सहायतामा प्रहरीले मृतक राजकुमारको शव नेपाल ल्याएको छ । पक्राउ परेका दुई जनालाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया