चुनाव जित्नका लागि माओवादी राेजेँ : वामदेव गाैतम

 साउन ३१, २०७९ मंगलबार १५:५६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताउनुभएको छ । 

आउँदाे चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताउनुभयो । 

सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रूपमा रहने बताउनुभयो । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु । त्यसो भएर जित्नका लागि म यसमा आएको छु । जित्ने आधार भनेको गठबन्धन हो ।’

हँसिया हथाैडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरू सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको गाैतमले दाबी गर्नुभयो । उहाँले इमानदारिताका साथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गर्नुभयो । उहाँले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तर पनि गठबन्धन अगाडि नै रहने दाबी गर्नुभयो । 

चुनाव जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले प्रधानमन्त्रीको कुराले सबै कुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गर्नुभयो । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै चुनावमा पराजित गर्न लागिपरेको बताउनुभएको थियो । राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहनुभएका गौतमले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर चुनावमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताउनुभयो । 

मङ्गलवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूलाई आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिह्न दिने सहमति गरेको थियो । 

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया