ओलीकाे राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समूह गठन

 भदौ १०, २०७९ शुक्रबार १८:५०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि नौ वटा समूह बनाएको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । अध्यक्ष ओलीले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनको छलफलका लागि बैठकले नौ वटा समूह बनाएको हो । बैठकका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन र आउँदो चुनावको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाको छलफल गरी ती समूहले भोलि शनिवार बस्ने बैठकमा प्रस्तुति राख्ने बताउनुभयो । 

बैठकमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले परिषद्को, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले अनुशासन आयोगको, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले लेखा आयोगको र केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुभएको छ । 

बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि उम्मेदवार छनोटको मापदण्ड र प्रक्रियाह प्रस्ताव भएको प्रचार विभाग उपप्रमुख रिजालले बताउनुभयो । त्यस्तै गएको पालिका चुनावमा पार्टीभित्र देखा परेका समस्या छानबिनका लागि गठित कार्यदलका संयोजक पार्टी उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट बैठकलाई जानकारी गराउनुभएको पनि उहाँले बताउनुभयो ।

बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको उपप्रमुख रिजालको भनाइ छ । यसैगरी केन्द्रीय कमिटीको तेस्रो बैठकपछि पार्टीले गरेका निर्णयको अनुमोदन पनि भएको जनाइएको छ । भारत प्रवासको पार्टी काम र प्रतिष्ठान सञ्चालनका नियमावली बनाउनका लागि सङ्गठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदलहरू निर्माण गरिएको जानकारी गराइएको छ । 

बैठकमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ ग्रहण गराइएको छ भने नवनियुक्त केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको छ । बैठक शनिवार बिहान साढे १० बजे पुनः बस्ने छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया