गाउँ–गाउँमा बाटाे पुगेसँगै दैनिक उपभाेग्य सामान सजिलै पाइन्छ

 भदौ १२, २०७९ आइतबार १९:८:५४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सङ्घीय राजधानी काठमाण्डौ तथा तराईका जिल्ला हुँदै रामेछापका आठ वटै पालिकाका वडास्तरसम्म सडक सञ्जाल जोडिएसँगै व्यापार, व्यवसाय गर्ने मानिस बढेका छन् । जसका कारण उपभोक्ताले दैनिक उपभोग्य सामान सहजै पाउन थालेका छन् । 

गाउँमा सडक नपुग्दा भरिया लगाएर ढुवानी गर्नुपर्दा चर्को मूल्य पर्ने खाद्यान्नलगायतका सामग्री अहिले गाउँ–गाउँमा बाटो पुगेसँगै नियमित गाडी चल्दा उपभोक्ताले सहजै सुलभ मूल्यमा सामग्री पाउन थालेका छन् । सडक बनेसँगै सहजै मालवाहक गाडी चल्न थालेपछि रामेछापका उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका अन्तर्गत गुम्देल, वाम्ती, प्रिती, भुजी, कुवुकास्थली लगायतका विकट गाउँका उपभोक्तालाई सहज भएको उमाकुण्ड गाउँपालिकाका नागरिक अगुवा झपडराज भण्डारी बताउनुहुन्छ ।

पहिला सडक गाउँसम्म नपुग्दा छिमेकी जिल्ला दोलखाको जिरीबाट भरिया लगाएर गुम्देल पुर्याउँदा एक बोरा (३० केजी) चामलको मूल्य उपभोक्ताले तीन हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता थियो । तर अहिले सडक पुगेसँगै त्यो चामल प्रतिबोरा एक हजार पाँच सयदेखि एक हजार सात सय रुपैयाँमा पाउन लागेको गुम्देलका व्यवसायी टासी शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सडक सञ्जाल जोडिएसँगै खाद्यान्नसहित निमार्ण सामाग्री सुलभ मूल्यमा गाउँमा नै पाउन लागेपछि दुर्गम गाउँका उपभोक्तालाई निकै सहज भएको छ ।’ 

गाउँमा सडक नपुग्दा भरिया लगाएर सामान बोकाउनु पर्दा हैरान हुने गरेको स्थानीय व्यवसायी सुरज श्रेष्ठले सुनाउनुभयो । ‘पैसा दिन्छुभन्दा पनि भरिया नपाउने समस्या थियो, अब त्यो अवस्था सधैँका लागि अन्त्य भएको छ । गाउँमा सञ्चालन भएको सडकलाई दिगो रूप दिन सके अब भरिया नचाहिनेमा हामी ढुक्क छौँ’, उहाँले भन्नुभयो । 

दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापका ६४ वडामै कच्ची सडकले छोएको छ । गाउँ–गाउँमा सडक पुगे पनि धेरैजसो ठाउँमा बर्खामा गाडी नचल्ने भएकाले लेकाली भेगका उपभोक्ताले भने हिउँदकै समयमा खाद्यान्नलगायतका सामान ढुुवानी गरेर जोहो गर्नुपर्ने बाध्यता रहेको उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कँडेलले जानकारी दिनुभयो । गाउँगाउँसम्म खनिएका सडकलाई वर्षैभरि सञ्चालन गर्न पालिकाले मर्मतमा ध्यान दिनुपर्ने उहाँको आग्रह छ । 

गाउँ–गाउँमा सडक पुगेसँगै व्यापार, व्यवसाय गर्ने मानिस बढेका रामेछाप उद्योग वाणिज्य सङ्घका महासचिव नवराज ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा झन्डै ६ हजारको हाराहारीमा व्यवसायी छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया