१९ वर्षमुनिको महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग ख...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - तीजको पहिलो दिन आज दर खाइँदैछ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने चलन छ । दरमा गुलियो, चिल्लो र पिरो धेरै भएका खानेकुराहरु खाने गरिन्छ ।
राति चिल्लो तथा पिरो खानेकुरा खाएर भोलिपल्ट दिनभर निराहार व्रत बस्नु स्वास्थ्यका घातक हुनसक्छ । व्रत बस्नुभन्दा २४ घण्टा अगाडिसम्म खाँदा खासै फरक नपरे पनि १०, १२ घण्टा अगाडि धेरै चिल्लो पिराे र गुलियो खानेकुरा खाँदा त्यसले विभिन्न जोखिम निम्त्याउन सक्छ । हामीले दैनिक रुपमा खानेभन्दा फरक प्रकृतिको खानेकुरा खाँदा हाम्रो पाचन प्रणालीले त्यसलाई सहन गर्न सक्दैन । त्यसलाई पचाउन सक्दैन । खाना पचेन भने विभिन्न खालका स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।
दरमा कतिपयले मासु खाने गर्छन् । त्यसरी मासु खाँदा धेरै नुन तथा मसला राख्नुहुँदैन । यस्तै दूधबाट बनेका परिकारमा पनि धेरै गुलियो, चिल्लो राख्नुहुँदैन । तरकारी तथा अचारमा धेरै पिरो मसला पनि धेरै राख्नु हुँदैन । यदि लामो समयको खाली पेट भएको बेला दर खान लागिएको छ भने सुरुमा नुनिलो र संयुक्त परिकार खानु पर्दछ । दर खाँदा आफ्नो शरीरमा चाहिने जति मात्रै खानु पर्दछ । धेरै खाएमा बान्ता हुने लगायतका अरु खालका स्वास्थ्य समस्या हुन देखिन सक्छ । दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य रुपमा समावेश गर्नुपर्छ । सामूहिक रुपमा दर खाँदा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ । यस्तै दरसँग जाँडरक्सी खानु हुँदैन ।
दरका रुपमा पहिलादेखि नै गुलियो, चिल्लो र पिराेखाने चलन रहे पनि पहिला र अहिलेको अवस्थामा धेरै फरक छ । पहिले शारीरिक रुपमा धेरै परिश्रम हुन्थ्यो । जसका कारण त्यति धेरै असर गर्दैन थियो । तर अहिले मानिसहरुले तुलनात्मक रुपमा कम परिश्रम गर्छन् । जसका कारण अहिलेका मानिस गुलियो, चिल्लो र पिराे खानेकुरा कम मात्रै पचाउन सक्छन् । भोलिपल्ट व्रत बस्नुछ भने झन् त्यस्ता खानेकुरा खानका लागि सतर्कता अपनाउनुपर्छ ।
चिल्लो, पिरो र मसलेदार खानेकुराले सबैलाई गर्ने असर भने उस्तै हुँदैन । मानिसको पचाउन सक्ने क्षमतामा भर पर्छ । पाचन शक्ति कमजोर भएकाहरुले दर खाँदा विशेष ध्यान पुर्याउनुपर्छ । शरीरमा कुनै पनि रोग लागेको छैन, शरीर स्वस्थ छ भने धेरै असर गर्दैन । तर जो मानिसको शरीर कमजोर छ , जसको उमेर बढी छ, मधुमेह र उच्च रक्तचाप जस्ता समस्या भएमा झन् बढी ध्यान दिनुपर्ने हुन्छ ।
यति नै मात्रामा यस्ता खानेकुरा खाने भन्दा पनि आफ्नो शरीरलाई सहने गरी, खानुपर्छ । यति खाँदा मलाई असर गर्दैन भनेर आफैँले अड्कल्नु पर्छ । जबरजस्ती खानु हुँदैन । अरु बेलामा खाने जस्तै सरल खाना खानुपर्छ । भोलि व्रत छ, आज एकदिन त खाइहालौँ नी के हुन्छ र ? भनेर हेलचेक्र्याइँ गर्नुहुँदैन । दरका रुपमा खानेकुरा खाँदा पनि हामीले दैनिक जीवनमा खानेजस्तै हल्काफुल्का खानेकुरा खानु नै उपयुक्त हुन्छ।
अझ मधुमेह भएकाहरुले भने चिल्लो तथा गुलियो कम भएका खानेकुरा मात्रै खान उपयुक्त हुन्छ । यस्तै नुन बढी भएका खानेकुरा पनि धेरै खानु स्वास्थ्यका लागि हानिकारक नै हुन्छ । खसीको मासु खाइएको छ भने पनि छाला, बोसो भएको र चिल्लो पिराे धेरै हालेको नखाँदा राम्रो हुन्छ । यदि खाने नै भए पनि एक वा दुई टुक्रा मासु मात्रै खाँदा उपयुक्त हुन्छ । दर खाँदा ध्यान पुर्याइयो र सरल खानामा ध्यान दिइयो भने मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा नै रहने भएकाले भोलिपल्ट व्रतको दिनमा पनि अलि सहज हुन्छ ।
( पोषणविद् डा. मनसा थापासँग गरिएको कुराकानीमा आधारित )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।