जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्नुपरेको दाबी गर्नुभएकाे छ ।
सोमवार काठमाण्डाैमा आयोजित 'पत्रकारसँग अन्तरसंवाद' कार्यक्रममा बोल्दै महासचिव पाेखरेलले यस्ताे बताउनुभएकाे हाे । नागरिककाे पक्षमा काम गरेको नेतालाई घेराबन्दी गरिएकाले त्यस्ताहरूलाई दण्डित गर्न पनि पार्टीले ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा लागेकाे उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताको पक्षमा काम गरेको नेतालाई अदालतबाट घेराबन्दी गर्नेहरूलाई दण्डित गर्नुपर्छ भन्ने मान्यताको आधारमा उहाँलाई प्रधानमन्त्रीको रूपमा अघि सारेका हौँ । नेतृत्वको अभाव पार्टीमा भएर होइन । नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि उहाँलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो । हामीलाई बहुमत ल्याउन पार्टी सदस्यले दुई मत मात्रै थप गरे हुन्छ । त्यही भएर प्रत्येक पार्टी सदस्यले दुई मत थप गर्ने गरी चुनावी रणनीति नै बनाएका छौँ ।’
कार्यक्रममा बाेल्दै महासचिव पाेखरेलले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आफ्नो पार्टी स्थानीय तहमा तालमेल गरेर जान सधैँ खुला रहेको बताउनुभयाे । तर कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाइ थियो । राजनीतिक दलहरूले चुनाव आफ्नो नीतिको आधारमा लडनुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर चुनावमा जाने पक्षमा नरहेको पटक–पटक दोहोर्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘आउँदाे चुनावमा हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौँ । हामी आफ्नो नीतिको आधारमा चुनावमा प्रस्तुत हुन गइराखेका छौँ । स्थानीय तहमा तालमेल हुन सक्छ । तालमेलका बारेमा हामी सधैँ खुला छौँ । कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेको छैनौँ । चुनावी तालमेलको कुरा गरेका छौँ ।’
महासचिव पोखरेलले नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिले राजीनामा दिने कुरा अतिरञ्जनामात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले नागरिकता विधेयक राष्ट्रपतिकाेमा पुगिनसकेको अवस्थामा त्यस बारेमा राष्ट्रपतिले के गर्ने भन्ने विषयमा टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नागरिकता विधेयकसँग जोडेर सम्मानीय राष्ट्रपतिको राजीनामा भन्ने कुराको प्रश्न एक प्रकारले बजारमा अतिरञ्जना सिर्जना गर्ने प्रयास हो । विधेयक अन्तिम रूपमा राष्ट्रपतिकाेमा पुगैकै छैन । विधेयक अहिले पनि विचाराधीन अवस्थामा छ । जबसम्म राष्ट्रपतिको टेबलमा पुग्दैन, त्यति बेलासम्म विधेयकको सन्दर्भमा के गर्ने भन्ने प्रश्न आउँछ जस्तो मलाई लाग्दैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।