गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै गयाे : अध्यक्ष नेपाल

 भदौ २१, २०७९ मंगलबार १३:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र प्रदेश सभा र प्रतिनिधि सभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभएको छ । अध्यक्ष नेपालले आउँदाे मङ्सीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पार्नुभयो । 

पार्टी निकट नेपाल दलित मुक्ति सङ्गठनको काठमाण्डाैमा आज मङ्गलवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘तालमेल गर्दै अघि बढ्दै जाने क्रममा नै हामी सिटको बाँडफाँट गर्न चाहिरहेका छौँ । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्नेबारेमा पनि प्रश्न उठेको छ । हामी सम्भव तुल्याउन चाहिरहेका छौँ ।’

अध्यक्ष नेपालले आउँदाे चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरूलाई जिताउने गरी सङ्गठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिङ्गो पार्टी पङ्क्ति परिचालन हुनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्ती–बस्तीमा पुगेर सङ्गठन निर्माण र परिचालनको काममा खटिन पनि सचेत गराउनुभयो ।

कार्यक्रममा बाेल्दै उहाँले दलित समुदायमाथि अपहेलना गर्नेहरूलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिनुभयो । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया