प्रचण्ड र जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै ‘घोचपेच’

 भदौ २२, २०७९ बुधबार १५:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै घोचपेच भएको छ ।

अखिल क्रान्तिकारीले गठन गरेको क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा आज बुधवार पार्टीभित्रको पदाधिकारीको पद विभाजनलाई लिएर प्रचण्ड र शर्माबीच घोचपेच भएको हो । अर्को कार्यक्रममा जान हतार भएको भन्दै प्रचण्डले सुरुमै बोल्न खोज्नुभएको थियो तर उपमहासचिव जनार्दन शर्माले आफूले पहिले बोलेपछि मात्रै प्रचण्डले बोल्नुपर्ने अडान राखेपछि पहिले जनार्दनका कुरा सुनेपछि मात्रै प्रचण्ड बोल्नुभएको थियो ।

सम्बोधनका क्रममा जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्ने बताउनुभयो । ‘नीति र नेतृत्व सही ढङ्गले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडीले हुँदैन, लाइनले हुँदैन’, शर्माले भन्नुभयो । 

तर प्रचण्डले भने जनार्दन शर्मालाई आफैँले हुर्काएकाे र रक्षा गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो– नीति र नेतृत्वको रक्षाको कुरा, म तपाईँहरूलाई भन्न चाहन्छु– जनार्दनलाई हुर्काउन र रक्षा गर्न पनि प्रचण्डको मुख्य भूमिका छ । उनको रक्षा र विकास गर्ने कुरामा मेरो भूमिका छ । मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधान सभाको पनि नेतृत्व गरेँ, गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि धेरै चिज भएकै छ, अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होउन् भन्ने हो । उनीहरूले पार्टीलाई एकताबद्ध गराउन, क्रान्तिकारीलाई एकै ठाउँमा ल्याउन र हाम्रो विरासत जोगाइराखुन् ।’ 

कार्यक्रममा प्रचण्डले अहिले चुनावको लडाइँमा जाँदै गर्दा पार्टीको नीति सडक, सदन र सरकारका तीन वटै मोर्चाबाट सङ्घर्ष गरेर मात्रै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने हुनुपर्ने बताउनुभयो । सडकको हिरो युवा विद्यार्थी भएको र विद्यार्थी सडकमा नआएसम्म देशमा परिवर्तन नहुने भएकाले टोल–टोलमा अभियान चलाउन पनि प्रचण्डले निर्देशन दिनुभयो । आफू देशव्यापी प्रशिक्षणमा जाँदा पनि अहिलेको चुनावी प्रणालीमाथि प्रश्न गरिरहेको भन्दै प्रचण्डले अहिलेको महँगो चुनाव लड्न माओवादीलाई समस्या भइरहेको बताउनुभयो ।

प्रतिगामीहरूले माओवादीले लडेर ल्याएको संविधान र नागरिकका अधिकार खोस्ने प्रयास गरिरहेको भन्दै प्रचण्डले विराेधीविरुद्ध एकजुट हुन पनि आह्वान गर्नुभयो । 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया