दार्चुला बाढीपहिरो अपडेट : थुनिएको महाकाली नदीमा पानी बग्न थाल्यो, खलङ्गामा खानेपानीको अभाव

 भदौ २६, २०७९ आइतबार ७:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - दार्चुलामा बाढी/पहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ । शुक्रवार रातिको पानीले महाकाली नदी थुनिएर ताल बनेको थियो ।

हिजो बेलुकादेखि पानी आफैँ बग्न थालेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो । त्यहाँ दुहुँ र महाकाली नगरपालिका जोड्ने पक्की पुल बाढीले बगाएको छ । महाकालीका ४० भन्दा धेरै घर जोखिममा परेका छन् । त्यस्तै लास्कु खोलामा आएको बाढीबाट एउटा झोलुङ्गे पुल बगेको छ ।

दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङ्गा आउने–जाने बाटो बन्द भएको छ । बाढी/पहिरोमा परि ५ जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका १० जनाको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको छ ।

घटनामा घाइते भएका ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी साउदले बताउनुभयो । महाकाली नदी थुनिएपछि जोखिममा परेका स्थानीय बासिन्दाले हिजो तत्काल उद्धार गर्न प्रशासनसँग माग राखेका थिए ।

महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ । बाढीले महाकाली–३ मा रहेको डुङ्ग्री विद्युत् पावर हाउसमा पनि पूर्णरुपले क्षति पुर्याएकाे छ । सदरमुकाम खलङ्गामा खानेपानीको अभाव भएको छ ।

लास्कु जलाधारमा ठूलो पानी परेपछि खसेको पहिरोले नदी थुनिएर वा ग्रेगान बहाव भइ कटानले ठूलो बाढीको रुप लिएको हुनसक्ने अनुमान छ । यस्तो घटनाको पूर्वानुमान गर्न कठिन हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी/पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री बोकेर सेनाको हेलिकप्टर गएको छ । उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडु, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली पनि सदरमुकाम खलङ्गा पुगेको छ ।

घटनापछि हिजो गृहमन्त्री बालकृष्ण खाणले तत्काल उद्धार तथा राहतमा जुट्न मातहतका निकायलाई निर्देशन समेत दिनुभएको थियो ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया