‘भुवन केसीले नेपाली चलचित्रलाई हल दिएन भनेर बदनाम गर्न खोजियो’

 भदौ २८, २०७९ मंगलबार १४:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । 

मङ्गलवार नेपाली चलचित्र 'सायरा' निर्माण हुने जानकारी दिन काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले आफू र चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भएको बताउनुभयो । बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आउँदा दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्‍याउने उहाँकाे भनाइ छ । 

अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गर्नुभयो । उहाँले बाहिरी देशका चलचित्रले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सहयाेग र माया मिलिरहेको छैन । संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ तर पहिलो प्राथमिकता नेपाली चलचित्रलाई हुनुपर्छ । बजारमा भुवन केसी र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन, शो दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोसिस गरिएको छ । अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन ।’

कार्यक्रममा चलचित्रकाे नाम सार्वजनिक गर्दै त्यसमा आबद्ध हुने कलाकारको बारेमा जानकारी गराइएको थियो । चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारको अभिनय रहने छ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नेछन् भने सामाजिक र प्रेम कथामा अधारित चलचित्रकाे ९० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र १० प्रतिशत छायाङ्कन नेपालमा हुनेछ । अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायाङ्कन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया