परदेशिनेहरु भन्छन्–‘गाउँघरमा सरकार त पुग्यो, रोजगारी पुगेन’

 भदौ ३१, २०७९ शुक्रबार १२:६:५० | बेदानन्द जाेशी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – ‘देशमै केही गर्न छाडेर परदेश जाने ?’, ‘देशको माया लाग्दैन ?’ वैदेशिक रोजगारीमा जानेहरुले कसै न कसैबाट यस्ता सवाल सुनेकै हुन्छन् । ललितपुरका निरज थोकरलाई पनि यस्ता सवाल सोध्ने मान्छेले घेरेका थिए । तर पनि उहाँलाई वैदेशिक रोजगारीमा जानबाट ती सवालले रोकेन । दुई हप्ता पहिले मलेसिया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिनुभएका उहाँसँग यी सवालको जवाफ त थिएन तर परदेश गएर कमाएपछि बुढा हुँदै गएका बुवाआमालाई सुखसाथ पाल्न सक्छुँ भन्ने विश्वास भने थियो ।

‘यहाँ रोजगारी नै छैन, काम पाइहाले पनि १०/१५ हजार रुपैयाँ स्यालरी हुन्छ, यतिले त घर खर्च पनि चल्दैन’, उहाँले भन्नुभयो, ‘बुवाआमा बुढो हुनुहुन्छ, उहाँले केही गर्न सक्नुहुन्न । केही कमाएर उहाँहरुलाई सुख दिउँ भनेर पनि जान लागेको हो ।’

१२ कक्षासम्म पढ्नुभएका निरजले घरको आर्थिक समस्याका कारण पढाइभन्दा कमाइलाई महत्व दिनुपर्यो । अनि क्याम्पस पढ्ने सपनालाई थाती राखेर पासपोर्ट बनाउनुभयो । म्यानपावरलाई झण्डै एक लाख रुपैयाँ तिरेर मलेसियाको रोजगारी पक्का गर्नुभएको हो । विमानस्थलभित्र प्रवेश गर्नु अगाडि निरज मलेसिया जान लागेका चार पाँच जना साथीहरुसँगै सामूहिक तस्बिर खिच्न थाल्नुभयो । घरपरिवार छाडेर विदेशिनुपर्दाको पीडा मोबाइलको सेल्फीमा नआओस् भन्दै मुस्कुराए सबै । निरज पनि मुस्कुराउनुभयो । अनि भुइँमा राखेको झोला पिठ्युमा भिरेर सबै जना टर्मिनलभित्र छिरे ।

काम गर्न परदेश जाने रहर त कसलाई हुन्छ र ? रोजगारीका अवसर नहुनु, काम अनुसारको कमाइ नहुनु, वचत नहुनु, कसैलाई भन्सुन नगरिकनै सजिलै काम पाउन मुस्किल हुनु जस्ता कारणले परदेशतर्फ डोर्‍याउँछ । घरपरिवारको जिम्मेवारी, काँधमाथिको ऋण र ढिल्किँदो उमेरले न छोराछोरीको माया भन्छ न त घरपरिवारको साथ । न त बुढा बुवाआमाको काख । मन गह्रुँगो बनाएर विमानस्थलसम्म पुग्दा पनि कतिपयलाई लागिरहेको हुन्छ, विदेश जान नपरे हुन्थ्यो नि । तीन महिनाको बिदा सकेर दुबई फर्किन त्रिभुवन विमानस्थलमा पुग्नुभएकी बर्दियाकी अनिता बनलाई पनि यस्तै लाग्छ । 

उहाँ भन्नुहुन्छ, ‘परदेशिने रहर कसलाई हुन्छ र ? सरकारले यतै रोजगारीका अवसरहरु सिर्जना गरेको भए यसरी घरमा छोराछोरी छोडेर विदेश जानुपर्ने थिएन नि ।’

यस्तै अनितालाई नेताहरुले कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्तिले युवाहरुलाई विदेशिन बाध्य पारेको जस्तो लाग्छ । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई विभिन्न ऋण तथा अनुदान दिने भनेको भए पनि आफूले लाख प्रयास गर्दा पनि त्यो सुविधा नपाएको उहाँले गुनासो पोख्नुभयो, ‘बैंकमा गयो भने विश्वास गदैन, ऋण लिनको लागि पनि पुँजी देखाउनुपर्ने रे । अब जोसँग पैसा छैन उसैले त हो ऋण लिने । पैसा भए, पुँजी भए त किन ऋण लिनुपर्थ्याे होला र ?’

यस्तै देशमा रोजगारी सिर्जना गर्ने भन्दै नेताहरुले भाषण गर्छन् । पालिका तह होस् वा प्रतिनिधि सभा उम्मेदवार सबै नेताको प्रमुख एजेण्डा हुन्छ, रोजगारी । अनिताले पनि यस्ता भाषण धेरै सुन्नुभयो । सुरुसुरुमा त विश्वास पनि लाग्थ्यो । अहिले विश्वास नै लाग्न छाड्यो । जति मिठोसँग रोजगारीका भाषण गर्छन् त्यति नै सहजताका साथ रोजगारी दिए घरपरिवारलाई रुवाएर परदेश लाग्नुपर्ने अवस्थाको अन्त्य हुन्थ्यो कि लाग्छ अनितालाई ।

‘चुनावका बेला नेताहरु कति मिठामिठा कुरा गर्छन्, तर ख्वै त व्यवहारमा लागू गरेको ?, चुनावमा भनेझैँ रोजगारी कति नेताले दिएका छन्, व्यवसाय गर्ने अवसर कतिले बनाइदिएका छन् ?’, अनिता आक्रोश पोख्नुहुन्छ, ‘गाउँ गाउँमा सरकार पुग्यो भन्छन्, के दियो त्यो सरकारले ? ख्वै त रोजगारी पुगेको ?’

न त छोड्न सकिने, न त मनैदेखि अँगाल्न सकिने अनौठो बाध्यता बनेको छ कतिपयको लागि वैदेशिक रोजगारी । मनमा देशमै केही गरौँ भन्ने चाहना भए पनि गर्न सकेका छैनन् कतिले । कसैले आर्थिक अवस्थाले छेक्छ कसैलाई आफूसँग भएको ज्ञान तथा सीपको सदुपयोग गर्ने ठाउँ नपाउँदा विदेशिनै पर्ने बाध्यता आइपर्छ । यस्तै बाध्यताले देशमै केही गर्ने रहर हुँदाहुँदै पनि साउदी फर्किनैपर्ने बाध्यता छ सुनसरीका उमेश सदालाई । उहाँ ठूलो क्रेनको ड्राइभर हो तर त्यसको काम नेपालमा निकै थोरै संख्यामा छ भए पनि विदेशमा कमाइ हुने तलबभन्दा तुलनात्मक रुपमा निकै कम । यही कारणले उमेशलाई विदेशतर्फ डोर्‍याउँछ । 

‘हाम्रो देशमा विकास निर्माणका ठुलठूला काम हुँदैनन्, जस्तो माइनहरु छैन, ठूला भवनहरु खासै बन्दैनन्, अनि हाम्रो काम पनि हुँदैन’, साउदीबाट बिदामा घर आएर फर्किन लाग्नुभएका सदाले भन्नुभयो, ‘अब गाउँगाउँमा ठुलठूला विकासका काम हुनुपर्‍याे अनि हाम्रो सीप पनि काम लाग्छ, देशमै रोजगारी पाउँछौँ ।’

यी त केही प्रतिनिधि घटना मात्र हुन् दैनिक झण्डै दुई हजार नेपाली कामको खोजीमा परदेश जान्छन् । सरकारले देशमै केही गर्नसक्ने वातावरण मिलाओस् भन्ने उनीहरु चाहन्छन् । देश संघीयतामा गएपछि अब त आफ्नै गाउँठाउँमा केही गरेर टिक्न लगानी गरेकाहरुले सरकार र समुदायको सहयोग पाएनन् । कृषि गर्नेले बजार पाएनन्, नयाँ केही गर्न खोज्नेहरुले लगानी गर्ने पुँजी नै जुटाउन सकेनन् । अनि कुनै विकल्प नभेटेपछि निराशा र झिनो आशा बोकेर परदेश हिँडे । अब आउने चुनावमा रोजगारी सिर्जना गर्ने नेताहरुले जितुन् भन्ने चाहन्छन् । त्रिभुवन विमानस्थलमा वैदेशिक रोजगारीमा जान हिँडेकाहरुसँग कुराकानी गर्दा धेरैको चाहना देशमा रोजगारी सिर्जना होस् भन्ने नै हुन्छ । देशमा रोजगारी नभएकै कारण आफूहरु परदेश जान लागेको भन्ने उनीहरुको गुनासो हुन्छ ।

किन हुन सकेन रोजगारी सिर्जना

एकातिर सरकारले बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने भनिरहेको छ, अर्कोतिर देशमा रोजगारी नपाएर युवाहरु परदेशकै बाटो तताइरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा जानको लागि ६ लाख ३० हजार ९७ जनाले श्रम स्वीकृति लिए । यसरी हेर्दा दैनिक झण्डै दुई हजार नेपाली वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । 

गाउँगाउँमा सिंहदरबार पुगेपछि केही होला भन्ने आशा बोकेर देश फर्किएकाहरु पनि निराश अनुहार लाएर फेरि परदेश जाने बाटोमा भेटिन्छन् । हातमा सर्टिफिकेट हुँदा पनि रोजगारी नपाउने, आफ्नै केही व्यापार व्यवसाय गरौं भन्दा अनेक कानूनी अड्चन खेप्नुपर्ने, अड्चन खेपेर थालेको प्रयासमा कसैले साथ नदिने भएपछि आजित भएर फेरि परदेश जानु बाहेक अर्को विकल्प नभएकाले परदेशिने युवाको संख्या बढेको छ । यसरी वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एकाएक बढ्नु भनेको देश विकास र रोजगारी सिर्जनामा असफल भएको श्रम तथा रोजगार विज्ञ गणेश गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा रोजगारी सिर्जना भन्दा पनि स्वरोजगार राम्रो हुन सक्छ ।

‘रोजगारीको गीत गाउन थालेको धेरै समय भइसक्यो । हामीले जानुपर्ने स्वरोजगार रहेछ । एक जनालाई स्वरोजगार बनाउन सक्यो भने उसले पाँच जनालाई रोजगारी देला’, उहाँ भन्नुहुन्छ, ‘यसकारणले हामीले पालिका तहमा नै स्वरोजगारको सम्भावनालाई प्रोत्साहन गर्नुपर्ने नीति ल्याउनुपर्ने रहेछ ।’

वैदेशिक रोजगारी अन्त्य गर्ने भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम पनि ल्याइयो । तर सरकारका यस्ता कार्यक्रम कार्यकर्ता भर्ती गर्ने र बजेट सक्ने मेलो मात्रै हुन पुगे । विविध कारणले बेरोजगार हुने र रोजगारी खोज्नेको सङ्ख्या बढ्यो । केही पालिकाले रोजगारी सिर्जना गर्ने भनेर केही अभ्यास गरेका पनि छन् । तर ती प्रयास पनि वैदेशिक रोजगारीमा जानबाट रोक्ने गरि प्रभावकारी नभएका श्रम विज्ञ गुरुङको भनाइ छ ।

‘हाम्रोमा योजना राम्रो बन्ने तर कार्‍यान्वय फितलो हुने समस्या छ । यस्ता योजना बन्नै भएन । यो कार्यक्रममा यस्ता समस्या आउन सक्छ है भनेर पहिले नै अध्ययन गर्नुपर्छ’, उहाँ भन्नुहुन्छ, ‘रोजगारी सिर्जना गर्न यो यो कुरामा आत्मनिर्भर हुन्छौँ भनेर योजना ल्याउनुपर्‍याे । विदेशबाट आयात हुने वस्तुहरु स्वदेशमै उत्पादन गर्नुपर्‍याे, त्यसको लागि सरकार र स्थानीय सरकार प्रतिबद्ध हुनुपर्‍याे । त्यही अनुसार योजना बन्नुपर्‍याे ।’

अन्तिम अपडेट: असोज ४, २०७९

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया