रेमिट्यान्स आएन भने सरकार चलाउनै गाह्राे छ : राज्यमन्त्री श्रेष्ठ

 असोज ९, २०७९ आइतबार १६:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको बताउनुभएकाे छ । आज आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले रेमिट्यान्स आएन भने सरकार चलाउनै गाह्रो हुने बताउनुभयो । 

मन्त्री श्रेष्ठले सङ्घीय संरचना अनुरूप अपेक्षित विकास हुन नसकेको बताउनुभयाे । विश्वमा द्वन्द्वपछि विकास भएको उदाहरण रहे पनि नेपालमा भने त्यो हुन नसकेको उहाँले सुनाउनुभयाे । कतिपय नीतिहरू सङ्घीय संरचना अनुरूप परिवर्तन गरेर जान नसक्दा धेरै समस्या आएको उहाँकाे भनाइ छ । 

आउँदाे निर्वाचित सरकारले नीतिहरू परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव हुने बताउँदै उहाँले भन्नुभयाे, ‘समय सापेक्ष नीतिहरू परिवर्तन गर्न सकिएन भने समृद्धिको बाटो आउँदैन भन्ने कुराको झलक देखिरहेको छ । संविधानको संरचनाअनुसारको प्रदेशमा देश लग्यौँ, अब विकास हुनुपर्छ । धेरै कुराहरू सङ्घीय संरचना अनुरूप अपेक्षित विकास हुन सकेको छैन । अब आउने निर्वाचित सरकारले नीतीहरू समय सापेक्ष परिवर्तन गरेर समृद्धिको लागि अघि बढ्नुपर्छ । आर्थिक अवस्था हेर्ने हो भने हामी दयनीय अवस्थामा छौँ । रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो छ ।’
 
मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत्, वनजङ्गल र जडीबुटीलाई कसरी प्रोत्साहन गर्ने भन्ने कुरा अध्ययन–अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायापलट हुने दाबी पनि गर्नुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • Kiran khudang limbu

    Sept. 25, 2022, 5:55 p.m.

    त्यहि रेमिटान्स ले धानेको छ भन्छन् तर त्यही रेमिटान्स का श्रोत रोजगारका लागि गएका ,बसेका ,जानखोजेका नेपाली हरुलाई दादागिरी गरेर चलाइरहेका मेनपावर ले कति दुःख,पीडा दिइरहेको छ जहाँ सरकार मौन छ।मुखले मात्र मलम लगाएर हुँदैन सरकार काम गर !,जनतालाई डर त्रास मुक्त गरिखान दे!

  •  0 Reply

तपाईको प्रतिक्रिया