आज विश्व पर्यटन दिवस : ललितपुरमा बृहत् सांस्कृतिक मेला

 असोज ११, २०७९ मंगलबार ९:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाउन लागिएको हो । 

पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला 'ललित कार्निभल'को आयोजना गरिएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा आज सांस्कृतिक मेला पाटन दरबार क्षेत्र, मंगलबजारमा हुन लागेको हो । आज बिहान पर्यटकहरूलाई स्वागत गरेर शुरू हुने सांस्कृतिक मेलामा ललितपुर महानगरपालिकाको पयर्टनसँग सम्बन्धित वेबसाइटको लोकार्पण, सम्पदा पदयात्रालगायतको पनि कार्यक्रम रहेको मेलाका संयोजक एवमं वडा नम्बर–१९ का अध्यक्ष राजेन्द्र महर्जनले बताउनुभयो । सांस्कृतिक मेलामा पाँच सय जना भन्दा धेरै कलाकारहरुले परम्परागत संगित तथा नृत्यको प्रस्तुति गर्ने मेलाका आन्तरिक संयोजक मोहन व्यञ्जनकारले बताउनुभयो । यसको लागि ज्यापू समाज यल, बौद्ध विहार संघ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरले ३ महिना अघिदेखि नै सयौं कलाकारहरूलाई नायःखिं, धिमे, धाः लगायतपरम्परागत बाजाको प्रशिक्षण समेत दिएको छ । 

हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाउन लागिएको हो । नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको छ । भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, ऐतिहासिक, धार्मिक पर्यटकीय गन्तव्य तथा पुरातात्विक सम्पदाको धनी नेपालमा पर्यटन क्षेत्रको सम्भावना उच्च छ । नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णय समेत गरेको छ । त्यस्तै बागमती प्रदेश सरकारले २०७९/८० लाई घुमफिर वर्षका रुपमा मनाउँदैछ । घुमफिर वर्षको आज चितवनको सौराहाबाट सुरुवात गरिदैछ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया