राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन संसद भवनको अवलोकन

 असोज १४, २०७९ शुक्रबार १६:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ । शुक्रवार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

उहाँले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन आग्रह गर्नुभयो । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भए पनि काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो । त्यस्तै भवन निर्माणको दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने उहाँले बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले ढिलोमा आगामी संसदको हिउँदे अधिवेशन नयाँ भवनबाट चलाउने गरी काम अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मलाई लाग्छ समस्या पैसाको कारणले हुँदैन । दिन रात काम गर्ने । सँगसँगै एकसाथ लान मिल्ने जति लागौँ । सक्दो छिटो अब फेरि ६ महिनापछि थप्नु नपर्ने गरी यो काम सक्नेतिर लाग्नुस् । बरु त्यसमा कति म्यानपावर थप्नुपर्छ, के–के थप्नुपर्ने हो त्यो कुरामा जोड गर्न लगाउनुस् । सेकेण्ड फेजको लागि छिटो गरिकन टेन्डरमा लानुपर्याे । समय बढ्दा लागत पनि बढ्छ अनि उतातिर चाहिँ भाडा पनि तिरिरहनुपर्ने । संसदीय दलका कार्यालयहरु, समितिका कार्यालयहरुको भित्रको बाँकी रहे पनि दुई वटा हाउसलाई अलि जोड गरेर गर्नु । हाउस मात्रै चल्यो भनेपनि हामी बानेश्वर जानु परेन नि । त्यो छिटो सुरु होस् । अब एक वर्षपछि हाउस यहाँ चलाउने गरी लाग्नुस् ।’

उहाँले कुनैपनि देशको विकासको गति निर्माण आयोजनाको काममा मापन हुने भन्दै विकास निर्माणको काममा तिव्रता दिनुपर्ने बताउनु भयो । उहाँले सरकारको तर्फबाट बजेटको सुनिश्चितता हुनुपर्ने र अन्य सम्बन्धित निकायले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्दै समयमै निर्माण कार्य सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘चैत्र मसान्तसम्ममा मेरो अहिलेको आँखाले त सकिहाल्छ जस्तो लाग्दैन । तर सक्नुपर्छ । अब २४ घण्टा तीन फेजमा काम गरेर भए पनि यो काम अगाडि बढाउनुस् । सबै ठाउँमा काम लगाउनुपर्याे । निर्माण आयोजना समयमा सक्नु विकासको सूचक हो । देशका कुनैपनि आयोजना कति छिटो सक्यो, कसरी भइराखेको छ भन्नेकुरा देशको विकासको गति के छ भन्ने बुझ्ने हो । सिंहदरबारभित्रको आयोजना त यति पछि पर्छ भने बाहिरका के होला भनेर अनुमान गर्न सकिन्छ नि । अनि हामीले देशको प्रगति, समृद्धिको लक्ष्य कसरी पूरा गर्न सक्छौँ ? त्यसकारण सबै पक्ष गम्भीर हुनुपर्याे । सरकारको तर्फबाट बजेट पर्याप्तता र सुनिश्चितता हुनुपर्याे । प्राविधिक हिसावले गर्नुपर्ने जे–जे कामहरु छ, त्यो समयमा सम्पन्न गरेर मिनेट पनि ढिला नहुने गरेर गर्नुपर्याे ।’

कुल ५ अर्ब २ करोड रुपैयाँ लागतमा विसं २०७६ असोज १६ गते संघीय संसद भवन निर्माण कार्यको सम्झौता भएको थियो । ३ वर्षको लागि सम्झौता भएर २०७९ असोजमा सक्नुपर्ने भए पनि कोभिडका कारण ६ महिना समय थप भएको हो । निर्माण कार्य २०७९ चैत्र ३० गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ ।  
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया