म नेपालवादी हुँ : रवीन्द्र मिश्र

 असोज १४, २०७९ शुक्रबार १६:२८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदाे चुनावमा आफूले राजसंस्था पुनर्स्थापना गर्ने एजेन्डालाई लिएर मतदातासँग भोट माग्ने बताउनुभएको छ । 

आज शुक्रवार काठमाण्डाै क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार औपचारिकरूपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आउँदाे चुनावमा जाने आफ्नो मूल एजेन्डाबारे प्रस्ट्याउनुभएको हो । आफू राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उहाँले संविधानले बाँधेर राखेको राजसंस्था पुनर्स्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताउनुभयो । यसरी जाँदा भोट नपाए पनि आफूले खुसीसाथ मतदातालाई धन्यवाद दिने उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन । म धर्मनिरपेक्षतावादी पनि होइन । म नेपालवादी हुँ । म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनर्स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु । यही कुरा लिएर म मतदाता कहाँ जान्छु, भोट पाए पाउँछु । पाइन भनेदेखि खुसीसाथ म धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाण्डाै क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने बताउनुभयो । उहाँले आउँदाे प्रतिनिधि सभा चुनावमा काठमाण्डाै क्षेत्र नम्बर १ का जनताले आफ्नो एजेन्डालाई हेरेर विजयी गराउने विश्वाससमेत व्यक्त गर्नुभयो । चुनावमा मतदाताकाेमा जाँदा आफूले ढाँटेर भोट माग्ने काम नगर्ने पटक–पटक दोहोर्‍याउँदै उहाँले गएकाे चुनावमा पनि आफूले सुकुम्वासीलाई लालपुर्जा दिन्छु भनेर फटाहा कुरा नगर्दा आठ सय १९ मतले हार्नुपरेको गुनासो गर्नुभयो । 

कार्यक्रममा बोल्दै राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द लोहनीले देश र जनताका लागि केही गरौँ भन्ने भावका साथ राजनीतिमा आएका मिश्रलाई आउँदाे चुनावमा विजयी गराउन काठमाण्डाै क्षेत्र नम्बर १ का जनतालाई आग्रह गर्नुभयो । उहाँले ठूला दलहरू देश र जनताका लागि नालायक भएकाले पनि आउँदाे चुनावमा नेपाली जनताले त्यसको विकल्पमा आफ्नो पार्टीलाई विजयी गराउनुपर्ने जिकिर गर्नुभयो ।

लोहनीले अर्बाैँकाे भ्रष्टाचारमा मुछिएकाहरूलाई नेपाली जनताले फेरि पनि चुनावमा विजयी गराएर गल्ती गर्न नहुने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया