गुल्मीमा कालिज फार्ममा पसेको चितुवाकाे उद्धार

 असोज १४, २०७९ शुक्रबार १७:३१:३० | जनार्दन घिमिरे
unn.prixa.net

फाइल तस्बिर

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकामा कालिज फार्मभित्र छिरेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ । रेसुङ्गा नगरपालिका १० का स्थानीयवासी हुमाकान्त अर्यालको कालिज फार्ममा पसेको चितुवालाई शुक्रवार नियन्त्रणमा लिइ उद्धार गरिएको हो । 

नियन्त्रणमा लिइएको चितुवाको तौल १८ किलो रहेको छ । चितुवा शुक्रवार बिहान साैगात अर्गानिक कृषि फार्मभित्र पसेको अवस्थामा भेटिएको थियो । फार्मभित्र पसेको चितुवाले एक सय ५० वटा कालिज मारेको डिभिजन वन कार्यालय गुल्मीमा प्रमुख प्रभात सापकोटाले बताउनुभयाे ।  

जालीकाे सानाे प्वालबाट चितुवा फार्ममा पसेको थियो । बिहान कुखुरालाई पानी खुवाउन जाने क्रममा फार्मभित्र चितुवा पसेको देखेपछि फार्म सञ्चालक अर्यालले प्रहरीमा खबर गर्नुभएको थियो । फार्मभित्र छिरेको चितुवा बाहिर निस्कन प्रयत्न गर्दा चितुवाको टाउकोमा चोट लागको छ । घाइते अवस्थामा चितुवालाई नियन्त्रणमा लिइ उद्धार गरिएको सहायक वन अधिकृत मुना शर्माले बताउनुभयो । 

नियन्त्रणमा लिइ उद्धार गरिएको चितुवालाई जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी डिभिजन वन कार्यालयमा राखिएको छ । उद्धार गरिएको चितुवालाई आज राति नै रेसुङ्गा वन क्षेत्रमा लगेर छाडिने डिभिजन प्रमुख सापकोटाले जानकारी दिनुभयो । गएकाे तीन हप्ताअघि रेसुङ्गाकाे निनीचौरमा कुखुराको फार्मभित्र चितुवा पसेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया