नागढुंगा नौबिसे सडकखण्डमा बिहानैदेखि जाम, ‘जथाभावी ओभरटेक’ नगर्न प्रहरीको अनुरोध

 असोज १६, २०७९ आइतबार १२:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग नागढुंगा नौबिसे सडकखण्डमा बिहानैदेखि जाम छ । यात्रु र गाडीको चाप बढेसँगै ठाउँ ठाउँमा गाडी पनि बिग्रिरहेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

बिहान सुरुङ मार्ग नजिकै बिग्रिएको गाडी हटाएर गाडी पास गराए पनि फेरि अर्को गाडी बिग्रिएकाले जाम बढेको नागढुंगाका ट्राफिक प्रहरी निरिक्षक टपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले गाडीको लाइन बाडभञ्याङसम्मै आइपुगेको छ । 

दशैँका लागि गाउँ घर जानेको चाप बढेसँगै केही दिन यता यो सडकखण्डमा दिनहुँ लामो जाम हुने गरेको छ । 

सडकको अवस्था, गाडीको चाप र गाडी बिग्रने समस्यासँगै मोटरसाइकल, स्कुटर जस्ता साना गाडीले जथाभावी ओभरटेक गर्दा समेत जाम बढ्ने गरेको उहाँले बताउनुभयो ।

गाडीको चाप भएका बेला जथाभावी ओभरटेक नगर्न पनि उहाँको आग्रह छ । यस्तै, कतिपय अवस्थामा तेल सकिएर पनि गाडी रोकिँदा जाम हुने गरेकाले यात्रामा निस्कनु अघि गाडीमा पर्याप्त मात्रामा तेल हाल्न पनि प्रहरीको अनुरोध । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया