लगातारकाे वर्षाले दैलेखमा जनजीवन प्रभावित

 असोज २२, २०७९ शनिबार ८:३७:१८ | अमर सुनार
unn.prixa.net

दैलेख – लगातार चार दिनदेखिको वर्षाले दैलेखमा जनजीवन प्रभावित भएको छ । दैलेख हुँदै आवागमन जोड्ने मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्गका ठाउँ–ठाउँमा पहिरोले सडक पुरिएका कारण लामो यात्रामा हिँडेका यात्रु अलमलमा परेका छन् । यस्तै दैलेख सदरमुकामबाट ग्रामीण क्षेत्र पुग्ने सडक र कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोडिएको सडकमा पनि पहिरोले अवराेध गरेपछि यात्रु बिचल्लीमा परेका छन् ।

वर्षाकै कारण बिजुली आपूर्तिमा समेत अवराेध हुँदा विकल्पमा सोलार प्यानल चार्ज हुन नसकेपछि नेपाल टेलिकम र एनसेलका बीटीएस टावर बन्द भएकाे छ । जसका कारण ग्रामीण क्षेत्रकाे सञ्चार सम्पर्कविच्छेद भएको छ ।

मौसम पूर्वानुमान विभागले अझै केही दिन पानी पर्ने जानकारी दिएका कारण कर्णाली र लोहोरेको छेउछाउका बस्तीका बासिन्दालाई सुरक्षित राख्न पालिकासँगकाे समन्वयमा काम भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिनुभयो । पानी परिरहेकै र धेरै ठाउँमा पहिरो खसेका कारण सडक खुलाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी हमालको भनाइ छ । बिजुली र सञ्चार सेवा सुरु गराउन पनि पहल भइरहेको उहाँले बताउनुभयो ।

दैलेखका ११ वटै पालिकाले डोजर किनेका तर चाडपर्वका बेला ठाउँठाउँमा पहिरो खसेर सडक बन्द भएका बेला उनीहरूले चासाे नदेखाएका कारण यात्रु अलपत्र परिरहेका पत्रकार हिक्मत नेपालीले गुनासो गर्नुभयो । डुंगेश्वर गाउँपालिका–२ लाँकुरीमा रहेकाे घरबाट सुर्खेत जान ६५ किलोमिटर यात्रामा हिँडेको १५ घण्टामा मात्र निकै कठिनका साथ गन्तव्यमा पुगेकाे उहाँले बताउनुभयो ।

यसैबीच आठबीस नगरपालिका–१ सात्तला जान लाग्दा चिनेखोलाले बगाएर बेपत्ता भएका दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ आयरपाटाका ३२ वर्षीय गमबहादुर दमाईलाई फेला पार्न सकिएको छैन । स्थानीयवासीकाे समन्वयमा उनकाे खाेजी भइरहेकाे दैलेखका प्रहरी इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया