लगातारको वर्षाले दैलेखमा सडक, सञ्चार र यातायात सेवा बन्द

 असोज २४, २०७९ सोमबार १६:२६:१५ | अमर सुनार
unn.prixa.net

कर्णाली राजमार्गकाे दरबारे भिरमा खसेको पहिराे । तस्बिर : सामाजिक सञ्जाल

दैलेख – लगातार सात दिनदेखि भइरहेको वर्षाका कारण दैलेखमा सडक, सञ्चार र विद्युत सेवा बन्द भएको छ । ठाउँ–ठाउँमा पहिरो गएका कारण सडक, सञ्चार र यातायात सेवा बन्द भएको छ । एक ठाउँको पहिरो हटाउनासाथ फेरि अर्को ठाउँमा पहिराे खस्ने गरेका कारण सडक सञ्चालन हुन सकेकाे छैन । 

यस्तै पहिरोका कारण ठाउँ–ठाउँमा विद्युतका पोल ढल्दा बिजुली आपूर्तिमा समस्या भएको नेपाल विद्युत् प्राधिकरण दैलेखका निमित्त कार्यालय प्रमुख प्रेमबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक ठाउँमा बनाइसक्दा अर्को ठाउँमा पोल ढलेको खबर आउँछ । जुटिरहेकै छौँ, विद्युत् सेवा सुरु गर्न सकिएको छैन ।’

विद्युत् आपूर्तिमा अवरोध र लगातारको वर्षाले विकल्पमा काम गर्ने सोलार चार्ज हुन नसकेका कारण दैलेखका चार वटा पालिकामा एफएम रेडियोको प्रसारण र तीन वटा दैनिक पत्रिका प्रकाशनसमेत रोकिएको छ । यस्तै नेपाल टेलिकम र एनसेलका बीटीएस टावर बन्द भएका कारण मोवाइलमा नेटवर्क आएकाे छैन । जिल्लाका विभिन्न २९ ठाउँमा यी दुई कम्पनीका बीटीएस टावर छन् । जिल्ला सदरमुकाममा नेपाल टेलिकम र एनसेलले जेनेरेटरबाट बीटीएस टावर चलाएका कारण सदरमुकाम र आसपासमा मात्र मोबाइल नेटवर्क र नेपाल टेलिकमको ल्यान्डलाइन चलेका छन् ।

मध्य पहाडी राजमार्गको सात्तला–साइखोला खण्डमा खसेकाे पहिराे । तस्बिर : विशाल सुनार 

वर्षाका कारण ठाउँ–ठाउँमा गएको पहिरोले दैलेख जिल्लामा पर्ने मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडक अवरुद्ध भएका छन् । दुल्लू नगरपालिका–२ दरबारे भिर नजिकै पहिराे खसेका कारण त्यहाँ तुरुन्तै गाडी चल्न गाह्रो रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभयो । मध्यपहाडी राजमार्गअन्तर्गत आठबीस नगरपालिका–१ सात्तलादेखि आठबीस नगरपालिका–३ साइखोलासम्मको सडक खण्डमा पहिरोले क्षति पुर्‍याएकाे प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभयो ।

निरन्तरको प्रयास बाबजुद पनि दैलेख–सुर्खेत सडकको सियाकोटमा पहिरो हटाउन नसकिँदा यता र उताको गाडीमा यात्रुलाई अदलबदल गरेर गन्तव्यमा पठाउने गरिरहेको चालक दीपक विश्वकर्माले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया