बुंगमती चिनाउन 'बुंग महोत्सव', यस्ता छन् आकर्षण

 असोज २७, २०७९ बिहीबार १५:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैबाट नजिकै रहेको सम्पदा बस्ती बुंगमतीमा आउँदो शनिवार (असोज २९ गते) 'बुंग महोत्सव' गरिने भएको छ । भूकम्पले थलिएको धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक नेवारी बस्ती बुंगमतीलाई पुनर्जीवित गर्ने उद्देश्याक साथ महोत्सव गर्न लागिएको हो ।

शनिवार बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने महोत्सवमा परम्परागत बाजा, सांगीतिक धुन, नृत्यसँगै नेवारी खाना, काष्ठकला, हस्तकला र परम्परागत सीप प्रदर्शन गरिनेछ । महोत्सवमा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन । 

युरोपियन युनियनको सहयोगमा स्विच एसिया कार्यक्रमअन्तर्गत यूएन ह्याबिट्याट, लुमन्ती, सीआईयूडी, आईएचएस र सभा नेपालद्वारा सञ्चालित पर्य-सम्पदा परियोजनाले महोत्सव व्यवस्थापन गर्ने जिम्मा 'इकोज इन द भ्याली' लाई दिएको छ । बुंग महोत्सवमा सांगीतिक रमाइलोसँगै बुंगमतीलाई नजिकबाट नियाल्न र अनुभव गर्न मिल्ने गरी कार्यक्रमको व्यवस्थापन गरिएको 'इकोज इन द भ्याली' का सहसंस्थापक भूषण शिल्पकारले जानकारी दिनुभयाे ।  

महोत्सवको मुख्य आकर्षण

बुंगमती धार्मिक, सांस्कृतिक एवम् पुरातात्त्विक महत्त्व बोकेको सम्पदा बस्ती हो । जहाँ मत्स्येन्द्रनाथ, ह्याग्रिव भैरव, प्रथमपुर विहार, कार्यविनायक मन्दिरसँगै थुप्रै फल्चा र पोखरीहरू छन् । सिंगो बस्तीलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ महोत्सवको दिन बस्तीका विभिन्न ठाउँमा दश वटा सांगीतिक ब्यान्डले प्रस्तुति दिनेछन् । मच्छिन्द्रबहालमा कुटुम्ब, रैथानेलगायतका नेपाली धुन सुनाउने संगीत ब्यान्डको प्रस्तुति रहनेछ भने प्रथमपुर विहार पञ्चामृत, कल्पकुञ्जलगायतको संगीतले गुञ्जयमान हुनेछ । यस्तै बा: छेँ फल्चामा बर्ता गन्धर्वको सारङ्गीको धुन सुन्न र वर्ड वारियरको प्रस्तुति हेर्न पाइनेछ ।

महोत्सवको अर्को आकर्षण भनेको सम्पदा बस्ती भ्रमण पनि हो । बुंगमतीको महत्त्वबारे बुझ्न र यहाँका पुरातात्त्विक महत्त्व बोकेका सम्पदाहरूबारे थाहा पाउन यो भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ । शनिवार बिहान ९ बजेदेखि सुरु हुने 'बुंगमती हेरिटेज वाल्क' मा स्थानीय गाइडले बुंगमती घुमाउने छन् । बुंगमती भ्रमण गर्न चाहनेले अनलाइनबाट फारम भर्नुपर्ने हुन्छ । जसका लागि तलको लिंकमा क्लिक गर्नु होला ।

यस्तै बालबालिकाका लागि विभिन्न परम्परागत खेलमा सहभागी हुने वातावरण पनि मिलाइएको 'इकोज इन द भ्याली' ले जनाएको छ । यसका साथै फोटो प्रदर्शनी, फेस पेन्टिङ, रञ्जना लिपीको क्यालिग्राफीसँगै बुंगमतीका स्थानीयको परम्परागत सीप र कौशलको समेत प्रदर्शनी हुनेछ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया