नेपाली चलचित्र ‘हिजोआजका कुरा’ सहित पाँच नयाँ फिल्म प्रदर्शनमा

 असोज २८, २०७९ शुक्रबार १४:२०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि हलमा नेपाली फिल्म 'हिजोआजका कुरा' सहित पाँच नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । 

'हिजोआजका कुरा' सँगै, हिन्दी फिल्म डक्टर जी, तेलुगु फिल्म गडफादर, कन्नड फिल्म कान्तारा र जापानी फिल्म वान पिसः रेड एकसाथ प्रदर्शनमा आएका हुन्।

हास्यकलाकार सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हिजोआजका कुरामा सन्तोष पन्त, साकार पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव लगायतको अभिनय छ । याे फिल्मलाई चर्चित टेलिशृङ्खला हिजोआजका कुरामा आधारित रहेर अहिलेकाे समय सान्दर्भिक हुने गरी बनाइएको छ। 

हिन्दी फिल्म डाक्टर जी पनि आजदेखि नेपाली हलमा प्रदर्शनमा आएको छ । फिल्ममा कलाकारहरु आयुष्मान खुराना, रकुलप्रित सिंह र सेफाली शाहको मुख्य भूमिका रहेको छ । फिल्ममा आयुष्मानले डाक्टरको भूमिका निर्वाह गरेका छन्। यो फिल्म मोहन राजाको निर्देशनमा बनेको हो ।

चिरञ्जीवी, नयनतारा र बलिउड सुपरस्टार सलमान खानकाे मुख्य भूमिका रहेको गडफादर आजदेखि प्रदर्शनमा आएको छ । नेपालको जोमसोममा समेत छायाङ्कन गरिएको यो चलचित्रमा रामचरण, आरबी चौधरी र एनभी प्रसादको लगानी रहेको छ।

यस्तै प्रदर्शनमा आएको एक्सन एडभेन्चर ड्रामा जनरामा आधारित कन्नड फिल्म कान्तारामा रिशव शेट्टी, सप्तमी गौडा र किशाेर कुमारको अभिनय रहेको छ । यो फिल्म रिशव शेट्टीको लेखन तथा निर्देशनमा रहेको छ । फिल्ममा कम्बला र बुटा कोलाको परम्परागत संस्कृतिलाई प्रस्तुत गरिएको छ। 

यस्तै, जापानीज एनिमेसन फिल्म वान पिसः रेड पनि आजदेखि प्रदर्शनमा आएको छ । यो फिल्मलाई गोरो तानिगुचीले निर्देशन गरेका हुन् । जापानमा ६ अगस्ट २०२२ मा प्रदर्शन भएको वान पिसः रेड सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्म पनि हाे । फिल्ममा चो, जिम फोरोन्दा, हिरोआकी हिराता लगायतका कलाकारले आवाज दिएका छन्।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया