झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले बढ्याे, ‘बजारमा अभाव’

 कात्तिक १, २०७९ मंगलबार १७:६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तिहारमा प्रयाेग हुने झिलिमिली बत्तीको मूल्य गएकाे वर्षको भन्दा १० प्रतिशतसम्मले बढेकाे छ । 

नेपाल विद्युतीय व्यवसायी महासङ्घले गएकाे वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले बढेकाे बताएको हो । महासङ्घले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिका कारण बत्तीको मूल्य बढेर आएको बताएको छ । 

तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिद/बिक्री बढ्न थालेको छ । फूल र झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला पनि देख्न सकिन्छ ।  

अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि सुरु भएको महासङ्घले जनाएको छ । महासङ्घका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमा केही कमी आउने बताउनुभयो । 

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पाेखरेलले नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नाले झिलिमिली बत्तीकाे मूल्य बढेकाे बताउनुभयो । उहाँले तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको बताउनुभयो । 

पोखरेलले गएकाे वर्ष नेपालमा झन्डै ४० करोडको झिलिमिली बत्ती आयात भएको भन्दै यो वर्ष झन्डै ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको बताउनुभयो । कोभिडभन्दा अघि २०७६ सालमा तिहारको समयमा नेपालमा झन्डै ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड रुपैयाँ बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘नेपालमा झिलीमिली बत्तीको उत्पादन छैन । धेरै प्रतिशत चीनसँग निर्भर रहेका छौँ । तिहारमा झालर, माला बत्ती, बल्व लगायत धेरैजसाे चीनबाट आउँछन् र थोरै मात्रामा भारतबाट आउँछ । पछिल्लो दुई वर्ष कोभिडको मारमा पर्‍याैँ । राष्ट्र बैंकले लिएको मौद्रिक नीतिका कारण पनि यो वर्षको तिहारमा विगतका वर्षको जस्तो झिलिमिली बत्तीको धेरै व्यापार हुने देखिएको छैन । बत्तीको आयातसमेत कम हुने महासङ्घको आँकलन छ । डलरको मूल्य वृद्धि भएको तथा झिलीमिली बत्ती चीनबाट लोड गर्ने बेलामा लकडाउन भएकाले कम आउने देखिन्छ । चीनबाट आयातका लागि नेपाली व्यावसायीले अर्डर दिए पनि जुन बेला लोड हुनुपर्ने थियो, त्याे  बेला चीनका सहरमा लकडाउन भयो । जसले गर्दा अहिले धेरै सामान आइपुगेको छैन । 

यसैबीच बिजुलीका सामान व्यापार गर्नेहरूले ग्राहकको मागअनुसार बजारमा तिहारका लागि आवश्यक झिलिमिली बत्ती नभएको बताएका छन् । काठमाण्डाैमा बिजुलीका सामानकाे व्यापार गर्दै आउनुभएका खतिवडाले बत्तीहरूको मूल्य बढेर आएको बताउनुभयो । अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भए पनि ग्राहकले खोजेको सामान नभएको गुनासाे गर्नुभयाे । 

नेपालमा सामान्य अवस्थामा बिजुलीका सामग्री तथा बत्ती नेपालमा वार्षिक एक अर्ब रुपैयाँभन्दा धेरैको आयात हुने गरेको छ । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासङ्घले बताएको छ । त्यस्तै अरू चाडपर्व, तथा विवाह भोजजस्ता कार्यक्रममा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको महासङ्घका महासचिव पोखरेलले बताउनुभयो । तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाइट धेरै मात्रामा बिक्री हुने गर्दछ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया