सडककाे दुरावस्था देखाउन सुन्तला महोत्सव आयोजना

 माघ ९, २०८१ बुधबार १८:१३:११ | रासस
unn.prixa.net

तस्वीर : रासस

पर्वत – गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन पर्वतकाे विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना हुने भएको छ ।

नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना हुन लागेकाे हो । पर्सि शुक्रवार माघ ११ गते एकदिने सुन्तला महोत्सव हुन लागेकाे हाे ।

सडक स्तरोन्नतिमा रचनात्मक दबाब सिर्जना गर्नका लागि महोत्सवको आयोजना गरिएको जलजला–१ बाँसखर्कका वडाध्यक्ष जगबहादुर रोकाले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेदेखि मन्त्री, सांसद तथा राजनीतिक दलका नेतालाई सहभागी गराएर सडकको दुरावस्था देखाउने मुख्य उद्देश्य रहेको छ ।

वर्षेनि झन्डै १५ करोड रुपैयाँसम्मका सुन्तला उत्पादन हुने भए पनि बजारमा ढुवानी गर्न समस्या भएपछि गाउँलेले यस्तो जुक्ति निकालेका हुन् । बाँसखर्क जोड्ने वारीवेनी–बगरफाँट–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म गाडी पुग्न समस्या भएको छ । ठूला गाडी सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानीमा समस्या भएको अगुवा किसान जगतबहादुर खत्रीले जानकारी दिनुभयो । सुन्तला बिक्रीबाट उहाँले यस वर्ष ४० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गर्नुभएको छ । सडक सास्तीका कारण ढुवानीमा समस्या रहेको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, साना खालका जीपमा थोरै थोरै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता रहेको छ, यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।सडकका कारण गन्तव्यमा पुर्‍याउँदा सुन्तला थिचिने, मिचिने र कुहिने समस्या रहन्छ ।

ढिलो गरी तयार हुने यहाँका सुन्तला माघ दोस्रो हप्तापछि मात्र बजार पठाउने गरिएको छ । गएकाे वर्ष ढुवानी गर्ने समयमा गाउँपालिकाले सामान्य सडक मर्मत गरेको भए पनि वर्षायामको बाढी पहिरोले सडकमा गाडी चलाउनै नसक्ने अवस्था रहेको अर्का किसान मेखबहादुर खत्रीले बताउनुभयो । यहाँको सडक मर्मतमा कुनै निकायले चासो नदिँदा समस्या भएको छ ।

प्रदेश सरकारदेखि यस क्षेत्रको राजनीतिक नेतृत्वलाई नै गाउँमा उतारेर सडकको दुरावस्थाका बारेमा जानकारी गराई सडक स्तरोन्नति र कालोपत्र गर्नका लागि बगानमै महोत्सव गरिने भएको छ ।महोत्सवमा सुन्तलाखेती प्रदर्शन, सुन्तलाका विभिन्न परिकार तथा स्वाद आगन्तुकलाई पस्किने आयोजकको तयारी छ ।

अहिले बाँसखर्कसम्म पुग्न बारीबेनी र मिलनचोकबाट कच्ची सडकको खुलेको भए पनि घण्टौं लगाएर साना गाडीमा पुग्नुपर्ने बाध्यता छ । जीर्ण सडकका कारण ठूला ट्रक र टिपर गाउँसम्म जान सक्दैनन् । सानो जीप मात्र मुश्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएको किसान खत्रीले गुनासो गर्नुभयो ।

ठूला ट्रक तथा कन्टेनरबाट एकै पटक ढुवानी गर्न पाएमा आफूलाई सहज हुने सुन्तला खरिदका लागि बगानमा आएका काठमाण्डाैको कालीमाटीका व्यवसायी रमेश ढुङ्गेलले बताउनुभयो । ‘यति ठूलो सुन्तला बगानको सहजताका लागि राज्यसमेतले पूर्वाधार निर्माण गरिदिनुपर्दछ’, उहाँले भन्नुभयो । झन्डै १० किलोमिटरको दूरी पार गर्न झन्डै डेढ घण्टा लाग्ने गरेको व्यवसायीको गुनासो छ ।

गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले प्रचारप्रसार गर्न तथा सुन्तलालाई ब्रान्डिङ गरेर बाहिर निर्यात गर्नुका साथै बगैँचासम्म जाने सडक सुधारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । यहाँका किसानले गएकाे वर्ष ११ करोड भित्र्याएका थिए भने अहिले क्षेत्रफल र उत्पादन दुवै बढेकाले १५ करोड रुपैयाँसम्म आम्दानी हुने आँकलन गरिएको उहाँले बताउनुभयो ।

बाँसखर्कको धेरैजसाे सुन्तला काठमाण्डाै पुग्ने गर्दछ भने केही मात्रामा पोखरा, नारायणगढ र बुटबलमा बिक्री हुने गरेको किसानले बताएका छन् । व्यवसायीले यहाँका सुन्तला बुकिङ्ग गरिसकेका छन् । अन्यत्र याम सकिएपछि मात्र यहाँ सुन्तला टिप्न आउने किसान सोमबहादुर तिलिजाले बताउनुभयो ।

यहाँका २ सय ५० घरधुरी अन्नबाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । हरेक परिवारले न्यूनतम पाँच लाखदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया