रत्नपार्ककाे शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ (तस्बिरसहित)

 कात्तिक ६, २०७९ आइतबार १०:४४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको रत्नपार्कमा रहेकाे शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ ।

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्ककाे शान्ति बाटिकामा आज बिहान काग बोलाएर १९औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो ।

दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उहाँको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरुको बिदाइ र युवाहरुलाई अवसर भन्ने रहेको बताउनु भयो । उहाँले आउँदाे वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र यस अवसरमा टुँडिखेल वा नारायणहिटीमा ठूलो कार्यक्रम गर्ने बताउनुभयो ।

कलाकार दुलालले काग सम्मेलनको अवसरमा काग, मयुरका स्वर निकालेर सुनाउनुभएको थियो । यमपञ्चक (तिहारको पाँच दिन) मा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजानसक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद् सन्देश ल्याउँदैन भन्ने विश्वास रहेको छ ।

यसदिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आउँदो वर्षभर कागले आफ्नो घरआँगनमा राम्रो र सुखद् खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ।

 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया