‘शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्रै गठबन्धन बनेकाे हाेइन’

 कात्तिक ७, २०७९ सोमबार १५:२८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्धमा जान नसक्ने जिकिर गर्नुभएको छ । 

आज सोमवार काठमाण्डाैमा आयोजित सत्तारूढ गठबन्धनको बाग्मती प्रदेशस्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कसैले प्रजातन्त्र विरोधी काम गर्न नसक्ने जिकिर पनि गर्नुभयाे । उहाँले गठबन्धन कायम रहेमा समावेशिताको खिलापमा पनि कोही जान नसक्ने उल्लेख गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘गठबन्धनका कारणले भोलिका दिनमा कसैले पनि प्रजातन्त्र विरोधी काम गर्ने, प्रजातन्त्रको खिलाफमा कोही जान सक्ने छैनन् । राष्ट्रको खिलाफमा कोही जान सक्ने छैनन् । राष्ट्रिय एकताको खिलाफमा कोही जान सक्ने छैनन् । समावेशिताको खिलाफमा कोही जान सक्ने छैनन् । अत्यन्तै समावेशी, सुन्दर नेपाल बन्नेछ ।’ 

प्रधानमन्त्री देउवाले अहिले सङ्क्रमणकालीन समय भएकाले आपसमा झगडा गर्न नहुने बताउनुभयो । उहाँले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्ने बताउनुभयो । गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गर्ने उहाँकाे भनाइ थियाे ।  

प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको दाबी पनि गर्नुभयाे । देशमा स्थायी शान्ति, बलियाे लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उहाँले यसको अपरिहार्यता भोलि पनि रहने जिकिर गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘यो गठबन्धन आवश्यकताले बनेको हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ । देशमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशिता, कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर हामीले अगाडि बढेको खण्डमा हाम्रो देश सच्चा मानेमा अगाडि बढ्न सक्छ भन्ने लाग्छ मलाई ।’
 
चुनावमा कुनै पनि दलको बहुमत नआउने भएकाले आसपमा मिल्नुपर्ने बाध्यता भएको देउवाकाे भनाइ थियाे । गठबन्धनका दलहरूबीच आपसमा एकताबद्ध भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन उहाँले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया